गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिका भवनको मंगलबार उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे । ‘‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ’ उनले भने ।
आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि कसरत नै गरेको उनले बताए । प्रचण्डले भने, ‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ । यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।’
सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए । ‘सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो, जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ’ अध्यक्ष दाहालले भने ।
आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने धारणा राखेका अध्यक्ष दाहालले युवालाई निराश नहुन आग्रह गरे । ‘नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,’ उनले भने ।

















प्रतिक्रिया दिनुहोस्