काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठुलो संख्यामा विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएको विषयलाई लिएर बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्ति जारी गर्दै कम्पनीले आयात प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत र पारदर्शी रहेको दाबी गरेको छ। कम्पनीले प्रचलित कानुन, भन्सार नियमावली तथा प्रक्रिया अनुसार नै गाडीहरू आयात र जाँचपास गरिएको प्रष्ट पारेको छ। कर परिवर्तनबाट बच्न सरकारी निकायसँग सेटिङ गरेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोपहरू पूर्णतः निराधार र असत्य रहेको साइमेक्सको भनाइ छ।
साइमेक्स इंकले पारदर्शीताका लागि मुस्ताङको कोराला भन्सार र रसुवा भन्सारबाट जाँचपास भएका गाडीहरूको आधिकारिक विवरण समेत सार्वजनिक गरेको छ । विवरण अनुसार कोराला भन्सार, मुस्ताङ (चीनतर्फ मे २२ देखि २७ र नेपालतर्फ मे २६ देखि २७ सम्म) कुल जाँचपास भएका सवारी संख्या ६४९ युनिट रहेका छन् । जसमा एट्टो १, एट्टो २, एट्टो ३ र सिलियन ७ गाडी रहेका छन् ।

चीनतर्फ मे २२ देखि २७ सम्म विभिन्न सिफ्टमा निर्यात घोषणा भएका गाडीहरू नेपालतर्फ मे २६ र २७ तारिखमा भन्सार जाँचपास भएका थिए। रसुवा भन्सार हुँदै (चीनतर्फ मे ६ देखि २५ र नेपालतर्फ मे १८ देखि २७ सम्म) कुल जाँचपास संख्या ४७२ युनिट रहेको कम्पनीले जनाएको छ। यहाँबाट पनि एट्टो १, एट्टो २, एट्टो ३ र सिलियन ७ नै आयात गरिएको उल्लेख छ। कम्पनीका अनुसार चीनतर्फ मे ६ देखि २५ सम्म निकासी प्रक्रिया सुरु भएका गाडीहरू नेपालतर्फ मे १८ देखि २७ सम्ममा भन्सार जाँचपास भइसकेका छन्।

यसका अतिरिक्त २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म तिनको भन्सार जाँचपास प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कम्पनीले जनाएको छ। ‘२२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रियाअनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएका हुन्।’
यो आयात प्रक्रिया बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा ढुवानीका चुनौतीहरूलाई ध्यानमा राखेर नियमित रूपमा गरिएको कम्पनीको प्रष्टीकरण छ। ‘हामीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएका छैनौँ र त्यस्तो माग पनि गरेका छैनौँ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कम्पनीले सत्य स्थापित गर्नका लागि सरकारी निकायबाट हुने जुनसुकै वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने घोषणा गरेको छ। छानबिनका लागि आवश्यक पर्ने आयात रेकर्ड, भन्सार घोषणा विवरण, बैंकिङ भुक्तानी विवरण र ढुवानीका सम्पूर्ण कागजातहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको साइमेक्सले उल्लेख गरेको छ।
बिहीबार नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका बीवाईडी ब्राण्डका ७ बढी विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको विवरण बाहिरिएपछि कम्पनीले कर छल्लन कम्पनीले सेटिङ नगरेको प्रस्टीकरण दिएको हो ।

















प्रतिक्रिया दिनुहोस्