शहीदहरुको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भएपनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि न्यायका लागि छातीमा गोली थापेर भएपनि लड्छु । गोली हान्न आदेश दिनेहरुलाई जेल नहालेसम्म र शहीदहरुको सपना पूरा नभएसम्म लड्छु ।
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले नयाँ बनेको अन्तरिम सरकारले शहीदप्रति न्याय दिलाउने पक्षमा इमान्दार प्रयास नगरेको आरोप लगाएका छन् । उनले जेनजी आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारबाहीको माग गरेका छन् ।
गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभिल अस्पताल लगियो भनेर,’ उनले भने । सिभिल हस्पिटल पुगेपछि श्रीयम राष्ट्रिय ट्रमा सेन्टरमा रहेको र मृत्यु पुष्टि भएको आफूलाई थाहा भएको उनले बताए ।
गणेशले बताए अनुसार शव ट्रमापछि त्रिवि शिक्षण अस्पतालमा पाँच दिनसम्म राखियो र प्रारम्भमा शव उपलब्ध गराउन सरकारले ढिलाइ गरेको थियो । ‘हामीले जबरजस्ती माग गर्दा मात्रै मुचुल्का उठाएर गएका थिए तर प्रहरीले ‘पाँच–सात दिनपछि सम्मानका साथ निकाल्छौँ’ भनेको थियो,’ उनले भने । गणेशले त्यतिबेला परिवारले सम्मानको अपेक्षा नगरी तत्काल आफ्ना छोराको शव माग गरेका थिए, तर प्रशासनले उनीहरुको आवाज सुनेन् । छोराको ‘शव कुहिरहेको’ अवस्था देखिएकाले ढिलाइ गर्न नहुने भन्दै परिवारले शव माग्दा प्रशासनले नदिएको प्रति उनका बुबाले असन्तुष्टि व्यक्त गरे । प्रारम्भ देखि नै परिवारले भोगेको दुःखलाई तत्कालीन सत्तामा रहेका मुख्य नेताहरुलाई कारबाही नगरेसम्म आफूहरु शान्त नहुने उनको भनाइ छ ।
आन्दोलन नेतृत्व र वर्तमान राजनीतिक नेतृत्वप्रति कडा अभिव्यक्ति दिँदै गणेशले भने, ‘जेनजी पुस्ताको लिडरसिप कमजोरी नै छ । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा, रमेश लेखक यी हत्यारा हुन् । यिनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ ।’ उनले वर्तमान सरकारलाई शहीदहरुको रगतमा टेकेर बनेको उल्लेख गर्दै सरकारले शहीदप्रति वास्तविक सहानुभूति देखाउन आवश्यक रहेको बताए । यस्तै सरकारले दिएको १५ लाख क्षतिपूर्तिको राहत घोषणा स्वीकार्य नभएको उनले स्पष्ट पारे । गणेशले परिवारका तर्फबाट समिति गठन सुरक्षाका कामका लागि पहल गरेको बताए । उनले सफा नेतृत्व र ठोस कार्यान्वयनको अभाव हुँदा आन्दोलनको अहिलेको स्वरूप निराशाजनक रहेको बताए । यस्तै उनले शहीदको सपना पूरा गर्न अब देशमा प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री चाहिनेमा जोड दिए ।

तस्बिर : गणेश चौलागाईं
गणेशले अब शहीद परिवारहरुका तर्फबाट सरकारलाई दबाब सिर्जना गर्न संघर्षका कार्यक्रमहरु आयोजना गर्ने बताए । उनले भने,‘शहीदहरुको सपना पूरा गराउन कसैले साथ नदिए एक्लै भएपनि लड्ने छु । एउटा भएको सन्तान पनि गुमेपछि मेरो के नै रह्यो र ? छातीमा गोली थापेर भएपनि लड्छु ।’ श्रीयमले बानेश्वरको सिभिल अस्पताल अगाडिको सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा प्रहरीले गोली लागेर मृत्युवरण गरेका थिए । उनका बुबाले त्यस दिनलाई सम्झँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पहिला पक्राउ गरेर मात्र छानबिन आयोग बनाउनुपर्नेमा अन्तरिम सरकारले हालसम्म उनिहरुलाई पक्राउ नगरेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘मेरो छोरा सरहका युवाहरुलाई गोली हान्न लगाउने त्यसबेलाका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पहिले पक्राउ गरेर जेलमा हालेर मात्र छानबिन आयोग बनाउनु पर्थ्यो । ति सबै पशु हुन् । यिनीहरुले देशको माया गर्दैनन्, भाषणमा मात्र माया गर्छन् ।’
इटहरीमा जन्मिएका श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । उनी ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए । बुबा–आमाको बुढेसकालको सहारा थिए । आफ्नो एउटै मात्र सन्तानलाई गुमाएपछि श्रीयमका बुबा गणेश र आमा गंगा कार्की यतिबेला गहिरो शोकमा छन् । गणेश र उनको परिवारले सुरुदेखिनै आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनैपर्ने माग आएका छन् । नेपाल न्यूज बैंक















प्रतिक्रिया दिनुहोस्