काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षा र बाढी पहिरोका कारण अबरुद्ध प्रमुख राजमार्गहरु जसतसक्दो चाँडो खुलाउने तयारी गरिरहेको बताएका छन् ।
उनले विशेषगरी ठप्प बनेको बीपी राजमार्गको (भकुण्डेवेशी–नेपालथोक) सडक बढीमा चार दिनमा खुलाउने गरी काम सुरु गरिसकेको बताए ।
आज पत्रकार सम्मेलन मार्फत मन्त्री घिसिङले भने, ‘विशेष गरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३/४ दिनभित्रमा सञ्चालनमा ल्याउने भनेका छन् ।’
सकेसम्म उक्त सडक छिटो सञ्चालनमा ल्याउन ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेको उनको भनाइ छ । सडक सुचारु नहुँदासम्म वैकल्पिक बाटोहरू प्रयोग गर्न उनको अनुरोध छ ।
यस्तै उनले भारी वर्षा, भूस्खलन र बाढीबाले क्षति पुगेका पश्चिमतर्फका केही राजमार्गमा यातायात सुचारू गरिएको उल्लेख गर्दै थप सडक खुलाउन सबै सम्यन्त्र परिचालित रहेको बताए ।
उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले अबरुद्ध सडकमा यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । उनले भने, ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ ।’
प्रमुख राजमार्गका अवरुद्ध सडकहरुमा दिनरात मर्मत कार्य जारी राखेको उल्लेख गर्दै उनले बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै उनले सरकारको सबै निकायले समयमै सर्तकता अपनाएकाले मानवीय क्षति कम भएको समेत बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशभर ठूलो भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माण गर्ने मन्त्रीको भनाइ छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्