सुनसरी । गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ ।
सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति पुगेको हो । आठवर्षदेखि केराखेती गर्दै आएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले सात बिघा जग्गा भाडामा लिइ छ लाख बैंकबाट ऋण लिएर केराखेती गरेका थिए । उनको तीन बिघा एक कठ्ठा केराखेतीमा क्षति पुगेको छ ।
वर्षा र हुण्डरीबाट १३ लाखभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ । वर्षेनी बाढीले केराखेतीमा १० लाखदेखि २५ लाखसम्म क्षति हुने गरेको मियाँले जानकारी दिए । त्यसैगरी, स्थानीय वीरेन्द्र ठाकुरले सात कठ्ठामा एक लाख लगानी गरेर लगाएको केराखेतीमा पनि क्षति पुगेको स्थानीय किसानहरुले बताएका छन् । जिल्लामा व्यावसायिक केरासहित अन्य बाली लगाउँदै आएका किसानले प्राकृतिक विपद्मा ठूलो क्षतिको सामना गर्दै आएका छन् ।
जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा यस वर्ष केराखेती भएको कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख सिंहले बताए ।



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्