वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन बाट मनग्य आम्दानी गर्दै आएका छन् ।
छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थालेका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । सुरुमा ५० लाख रुपैयाँ लगानी गरी व्यवसाय सुरु गरेका बस्यालले फार्मलाई विस्तार गर्दै अघि बढे। उनले सुरुमा ५० लाखको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट सुरु गरेको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजानुभएको हो । “भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै हाल गाईभैँसीको संख्यामा समेत उल्लेख्य वृद्धि भएको बताए । उनले भने, “हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै डेढ करोड रुपैयाँ लगानी भएको छ ।”
फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् । आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन् ।
“फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ”, उनले भने, “फामबाट प्रतिलिटर ६५ देखि ७० रुपैयाँका दरले दूध बिक्री भइरहेको छ ।” बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आएका छन् । फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले १५ रुपैयाँ अनुदान थप गरेर उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उनले बताए ।
“यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन”, उनले भने, “उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट १५ रुपैयाँका दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।” फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा रहेको उनले सुनाए ।
“केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ”, उनले भने, “काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।” फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए । रासस



कर्पोरेट समाचार 























प्रतिक्रिया दिनुहोस्