काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रुपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका नेता खनालले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताएका हुन् ।
‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला पार्टीमा र जेनजी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ । यसले गर्दा सबैको माग पुनर्गठन र रुपान्तरणको हो’, उनले लेखेका छन्, ‘यो युगको माग हो, समयको माग हो र सिङ्गो राष्ट्रको मागसमेत हो ।’
अहिले आफ्नो दल एकीकृत समाजवादीले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्ने नहुने नेता खनालले धारणा राखे । ‘यो कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन र छैन । हामी कोही पनि गलत बाटोमा हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँं’, उनले भने । नेकपा माओवादी केन्द्रसँग एकीकरणका चर्चाबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो ।
आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ । नवौंँ राष्ट्रिय महाअधिवेशनदेखि उठाइएको युवा आवाज र कार्यविधिको विषयलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले पार्टीभित्रका युवाको आवाजअनुरुप हुने गरी पार्टीलाई पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् । सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी बृहत राष्ट्रिय मोर्चाको निर्माणमार्फत् प्रतिनिधिसभाको निर्वाचनमा खटिनुपर्ने उनको जोड छ ।

















प्रतिक्रिया दिनुहोस्