काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी भदौमा मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ।
आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस एक्स्पोका लागि स्टल बाँडफाँड सम्पन्न भएको आयोजकले जनाएको छ। पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका कुल ४९ वटा ब्रान्डका लागि ४९ वटा स्टल बाँडफाँड गरिएको नाइमाले जनाएको छ।
स्टल बाँडफाँडको विवरण अनुसार चार पांग्रे सवारी साधनका २६ वटा स्टल, दुई पांग्रे र व्यावसायिक सवारी साधनका लागि २३ वटा स्टल प्रदान गरिएको छ । शुक्रबार भएको स्टल बाँडफाँडमा बोल्दै नाइमाका अध्यक्ष रितु सिंह वैद्यले अटोमोबाइल उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले एक्स्पोको महत्व पुष्टि गरेको बताइन् । ‘एक्स्पोलाई केवल प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता ९मोबिलिटी० प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको छ’ अध्यक्ष वैद्यले भनिन् ।

अध्यक्ष वैद्यका अनुसार प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेका छन्। निर्धारित समयसीमा सकिएपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेकाले उपलब्ध स्थान र सम्भावनाको मूल्याङ्कन गरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकता दिएर सम्बोधन गर्ने प्रयास गरिने उनले जानकारी दिइन् । एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागिताले प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास र आकर्षण झल्काएको उल्लेख गरे । यस उत्साहजनक सहयोगले एक्स्पोलाई नेपालकै प्रभावशाली प्रदर्शनीका रूपमा स्थापित गर्दै विश्वस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको अनुभव प्रदान गर्ने विश्वास उनको छ।
त्यस्तै, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष भएको स्पष्ट पारे । नेपालका प्रायः सबै प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता रहने यस एक्स्पोको तयारी साझेदार संस्था र सरोकारवालाहरूसँगको सहकार्यमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए । नाइमाका अनुसार उक्त एक्सपोमा निम्नलिखित ब्रान्डहरुले सहभागीता जनाउँदैछन् ।
चार पांग्रे सवारी ब्रान्डहरू: ARCFOX, BAIC, BYD, Citroen, Denza, Forthing, Great Wall Motors, Henrey Volts, Honri Boma, Hyundai, iCAUR, Kaiyi, KIA, Leapmotor, Mahindra, Maxus, MG (GO Automobiles & Paramount Motors), Nissan, Omoda & Jaecoo, Peugeot, Proton, TATA, Toyota, Wuling, र Zeekr।
दुई पांग्रे सवारी ब्रान्डहरू: Ather, Bajaj, CFMOTO / ZEEHO, Garrow, Honda, Keren, KTM, Morbidelli, NIU, Peugeot & BGAUSS, Royal Enfield, Suzuki, Triumph, TVS, Ultraviolette, Yadea, र ZX MOTO / CX Motorcycles।
व्यावसायिक सवारी साधन ब्रान्डहरू: Chery Wanda, Karry, Keyton, र Skyworth।
‘मोबिलिटी फर अल’ को अवधारणालाई अघि बढाउँदै आएको नाइमाको यस एक्स्पोमा सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका नवीनतम उत्पादन प्रदर्शन, नयाँ उत्पादन सार्वजनिक (लन्च), अत्याधुनिक प्रविधिको प्रदर्शनी र समानान्तर रूपमा ज्ञानमूलक सत्रहरू एक्स्पोका मुख्य आकर्षण हुने नाइमाले जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ ।

















प्रतिक्रिया दिनुहोस्