काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’ले निर्वाचन आयोगमा आज दल दर्ताका लागि निवेदन दिएको छ । आयोगको कार्यालय, बहादुर भवनमा पुगेर सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितले दल दर्ताको निवेदन दिएका हुन् ।
प्रवक्ता समेत रहेका विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् ।
सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए । उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु गर्यौ त्यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधानको लागि र देशको अगाडि भएको अवसरलाई वास्तविकतामा परिवर्तन गर्नको लागि पनि नेपाल कम्युनिष्ट पार्टीले लिएको कदम र चुनावमा प्रवेशको कुराले विशेष स्थान राख्ने छ ।’
यस्तै, उनले नेपालको राजनीतिमा सबैभन्दा प्रजातान्त्रिक र जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न, फैसला गर्न पाउने विधि भनेको निर्वाचन भएको उल्लेख गर्दै पार्टीले पनि सोही विधि अनुसार अगाडि बढ्ने तयारी गरेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिमा एउटा नयाँ नीति अगाडि सारेर हामीले जनताको अधिकार र मुद्दाको कुरालाई जनताले आफैं फैसला गर्ने एउटा सबैभन्दा प्रजातान्त्रिक विधि निर्वाचनमा सामेल हुन हाम्रो पार्टीलाई पनि निर्वाचन आयोगमा दर्ता गराउन लागिएको हो ।’ जेनजी आन्दोलनपछि बनेको सरकारका अगाडि ठूला–ठूला चुनौती र प्रश्नहरु रहेको भन्दै त्यसको समाधान गर्न पनि राष्ट्रिय राजनीतिमा नयाँ छलफल जरुरी रहेको उनको भनाइ छ ।
सोही क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी भएको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला ।’ भण्डारीसहितका पदाधिकारीले निर्वाचनमा गएर दलहरुको समर्थन लिने लोकतान्त्रिक अभ्यासमा लागेकामा सो दलका नेता–कार्यकर्तालाई धन्यवाद दिए । आयुक्त भण्डारीले विशेष परिस्थितिमा आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनलाई सफल तुल्याउन राजनीतिक दल र सम्बद्ध पक्षसँगको परामर्शमा आयोगले काम गर्ने विश्वास दिलाए ।
तर, निर्वाचनको व्यवस्थापन, कार्यान्वयन गर्ने प्रक्रिया अहिलेको अवस्थामा कठिन भएको भन्दै निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको भएपनि सानो कुराले पनि निर्वाचन बिथोलिन सक्नेतर्फ सबै सजक हुनुपर्नेमा भण्डारीले जोड दिए । उनले भने, ‘चुनावको लागि हामीलाई कति तनाव हुन्छ । निर्वाचनको व्यवस्थापनको प्रक्रिया हुन्छ । यसलाई कार्यान्वयन गर्ने प्रक्रिया हुन्छ, सानोभन्दा सानो कुराले पनि निर्वाचन बिथोलिन सक्छ । निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको छ ।’
यसैगरी, नेता विश्वकर्माले लोकतान्त्रिक आन्दोलनलाई पुनः सङ्गठित गर्दै मुलुकका विभिन्न कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यका लागि वार्ता भइरहेको बताए । उनले समाजवाद स्थापनाका लागि सिद्धान्तनिष्ठ सच्चा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वको प्रश्नमा आफूहरु केन्द्रित रहेको उनको भनाइ छ ।
विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो ।

















प्रतिक्रिया दिनुहोस्