रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट ल्याइएको छ ।
काठमाडौं मेडिकल कलेज (के.एम.सी) अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको गएराति २ बजे निधन भएकोपारिवारिक स्रोतले जनाएको छ । उनको शव अन्तिम संस्कारका लागि गृह जिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि नै अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौला फेल भएपछि आलमको केएमसीमा डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै आलमलाई ब्रेन स्ट्रोक भएको थियो ।
आलम २०६४ चैत २७ गते (संविधानसभा निर्वाचनको अघिल्लो राति) बम विष्फोट भएको घटनाका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएपछि दोषी ठहर भएका थिए ।
उनलाई जिल्ला अदालत रौतहटले बम विष्फोट घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत वीरगन्जले भने जिल्लाको फैसला उल्टाएपछि आलम गत जेठमा थुनामुक्त भएका थिए ।
आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा जित हासिल गरेसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री भएका थिए ।
यस्तै, २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत बनेका थिए ।
आलमका दुई छोरा र एक छोरी छन् । उनको दुबै छोरा डा. फिरदोस (जेठो) र डा. राजिक (कान्छो) हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्