काठमाडौं । विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई निजामती कर्मचारीमाथि सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत दुई कम्प्युटर अपरेटरसँग स्पष्टीकरण माग गरेको जनाएको हो।
मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदा समाप्त भएपछि उनीहरू आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गर्दै आएका छन्। उनीहरूले विदेशी मुलुकको अस्थायी तथा स्थायी आवासीय अनुमति (पीआर) लिएको समेत पाइएको मन्त्रालयले जनाएको छ। यद्यपी मन्त्रालयले ती दुई कर्मचारी को हुन् भनेर विवरण भने खुलाएको छैन ।
प्रचलित कानुनअनुसार निजामती कर्मचारीले सेवामा बहाल रहँदै कुनै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्। साथै स्वीकृत बिदा समाप्त भएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकामा उनीहरू लामो समयदेखि अनुपस्थित रहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र चित्तबुझ्दो आधार, कारण र प्रमाणसहित सफाइ पेश गर्न निर्देशन दिएको छ।
तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको जवाफ सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
यसैबीच मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे पनि अध्ययन तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले निजामती सेवामा अनुशासन, जवाफदेहिता र सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। उनले कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनबमोजिम आवश्यक निर्णय गरिने जानकारी दिइन्।















प्रतिक्रिया दिनुहोस्