काठमाडौं । लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुवै पक्षबीच एकता हुने भएको छ । दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच १० बुँदे सहमतिपछि दुवै पक्ष एकताबद्ध हुन तयार भएका छन् ।
एकताको औपचारिक घोषणा आइतबार प्रधानमन्त्री सुशीला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुंग्याउने निर्णय गरेका छन्। अदालतले मान्यता दिएको ११औं महाधिवेशनको नेतृत्वलाई स्वीकार गर्दै, एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठलाई औपचारिक रूपमा संघको नेतृत्वमा पदस्थ गराइने सहमति भएको छ।
आगामी छ महिनाभित्र पारदर्शी र विश्वासयोग्य १२औं महाधिवेशन गर्ने दुवै समूहको साझा प्रतिबद्धता रहेको छ। त्यसका लागि अध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा स्टेयरिङ कमिटी गठन गरिनेछ, जसले निर्वाचन, अनुगमन, सदस्यता व्यवस्थापन, न्यायिक संयन्त्र तथा एमआइएस सिस्टम सुधारसहित सबै संरचना व्यवस्थित रूपमा सञ्चालन गर्नेछ। दुवै समूहले १०औं र ११औं महाधिवेशनबाट निर्वाचित संरचनालाई आधिकारिक रूपमा स्वीकार गर्ने निर्णयसँगै लामो समयदेखिको विभाजन अन्त्य हुँदै संस्थागत एकता बलियो हुने निश्चित भएको हो।
एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ। एनआरएनएको वैधानिकता तथा आधिकारिकतासम्बन्धी अदालतमा विचाराधीन मुद्दाहरू आपसी सहमतिमा फिर्ता लिने वा समाधान गर्ने निर्णयपछि संघ अब कानुनी दबाबमुक्त हुँदै एकीकृत ढङ्गले अघि बढ्नेछ। सहमतिपत्र परराष्ट्र मन्त्रालयको रोहवरमा हस्ताक्षर हुने र कुनै पनि विवाद उत्पन्न भए मन्त्रालयकै संयोजनमा समाधान गरिने उल्लेख छ।
अध्यक्ष महेश श्रेष्ठले एकतालाई विश्वभर रहेको नेपाली समुदायलाई एउटै उद्देश्यमा जोड्ने ऐतिहासिक अवसर बताएका छन्। यस्तै, अध्यक्ष डा.बद्री केसीले संस्थालाई स्थायित्व, पारदर्शिता र विधिका साथ अघि बढाउने साझा प्रतिबद्धताले दुवै पक्ष एकजुट भएको बताए।एकता सभाको पूर्वसन्ध्यामा दुवै पक्षका शीर्ष नेताहरू काठमाडौं आइपुगेका छन्। एकताको अभियानमा क्रियाशील निवर्तमान आइसीसी अध्यक्ष आरके शर्मा, प्रवक्ता गङ्गाधर गौतम, मध्यपूर्व संयोजक आरसी रमेश श्रेष्ठ, एनआरएनए कतारका निवर्तमान अध्यक्ष रमेश भट्टलगायत टोली नै काठमाडौं आइसकेका छन् ।

नेपाल आइपुगेपछि निवर्तमान अध्यक्ष आरके शर्माले ८० लाख प्रवासी नेपालीको मुद्दा र आम नेपालीको भरोसालाई केन्द्रमा राख्दै दिगो एकतामा पुगेको बताए । प्रवक्ता गङ्गाधर गौतमले वर्षौँदेखि देखिएको विभाजन, तिक्तता र असमझदारी अन्त्य गर्दै गैरआवासीय नेपालीबीच भाइचारा र सहकार्यको आधार तयार भएको जानकारी गराए ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्