Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
विज्ञापन
Advertisement

चितवन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी ले चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण र समस्याग्रस्त वन्यजन्तु व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

चितवन भ्रमणका क्रममा मन्त्री चौधरीले प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माण स्थलको अवलोकन गर्दै देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा सेन्चुरी निर्माण गर्ने सरकारी योजना अघि बढिरहेको जानकारी दिइन्। हाल देशभरका एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिँदै आएका छन्, जसको व्यवस्थापन खर्चिलो बन्दै गएको छ।

मन्त्री चौधरीका अनुसार टाइगर सेन्चुरी निर्माण भएपछि घाइते तथा समस्याग्रस्त बाघलाई प्राकृतिक वातावरणमा राख्न सकिनेछ। यसले वन्यजन्तु संरक्षणसँगै पर्या–पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा उनले निकुञ्ज प्रशासनसँग आवश्यक पूर्वाधार तथा व्यवस्थापन योजनाबारे छलफल समेत गरिन्।

भ्रमणका क्रममा मन्त्री चौधरीले खोरसोरस्थित हात्ती प्रजनन केन्द्रको पनि निरीक्षण समेत गरेकी छन् । ३३ वर्षको अवधिमा ६८ वटा हात्तीका छावा जन्माएर संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको केन्द्रका चुनौती, स्वास्थ्य सेवा, आहारा व्यवस्थापन तथा पूर्वाधार आवश्यकताबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

त्यसैगरी उनले घडियाल प्रजनन केन्द्रको अवलोकन गर्दै घडियाल संरक्षण कार्यक्रमले नदी तटीय पारिस्थितिकीय प्रणाली संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। घडियालको संख्या वृद्धि तथा संरक्षणलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन्।

मन्त्री चौधरीले टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनमा कृष्णसार स्थानान्तरणको तयारीको निरीक्षण गर्दै सुरक्षित बासस्थान सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्। संरक्षण र पर्या–पर्यटन प्रवर्द्धनका लागि कृष्णसार ल्याउने तयारी भइरहेको जनाइएको छ।

यसै क्रममा उनले सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गर्दै वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार सुदृढीकरण तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिम प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिइन्।

चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक प्रयोगशालाको भ्रमण गर्दै मन्त्री चौधरीले वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित संरक्षण नीति निर्माणमा यस्ता प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने धारणा राखिन् ।

भ्रमणका क्रममा चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। मन्त्री चौधरीले समुदायमा आधारित संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत, उद्धार तथा दीर्घकालीन पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit