Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल, निर्यातजन्य उद्योगमा लगानी गर्न ढकालको आग्रह

नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल, निर्यातजन्य उद्योगमा लगानी गर्न ढकालको आग्रह
विज्ञापन
Advertisement

हनोइ (भियतनाम) । थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानी बढाउनका आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उनले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै लगानी बढाउनका लागि ओलीले आग्रह गरेका हुन् ।

‘पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ’, उनले भने, ‘नेपालमा निर्यातजन्य उद्योगमा लगानीका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु ।’ यस्तै उनले दुवै देशबीच पर्यटनको क्षेत्रमा सम्भावना रहेको समेत उल्लेख गरे ।

नेपाल र भियतनाम सरकारबीचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्न सकिने पनि उनको भनाइ थियो । ओलीले नेपालमा उत्पादनमुलक उद्योग, आइसिटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी दिए । नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै उनले दुवै देशबीचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे । उनले दुई देशबीच कूटनीतिक सम्बन्धले पाँच दशक पुगेको अवसरमा अब दुई देशबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच आर्थिक सहकार्यका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु, नेपालमा लगानीको ठूलो सम्भावना छ, यस अवसरलाई सदुपयोग गर्नका लागि हाम्रो प्रयास रहनेछ’, अध्यक्ष ढकालले भने ।

नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसतर्फ पनि लगानी बढाउन सकिने उल्लेख गरे । उनले दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने सम्भावना रहेको पनि बताएका छन् । नेपालमा भियतनामको कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको ठूलो बजार रहेको उनको भनाइ थियो । ‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनलगायतका क्षेत्रमा सुधार भएको छ, सरकार पनि विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ’, उनले भने।

नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी केबलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताए । अध्यक्ष ढकाललले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि निम्तो समेत दिएका थिए ।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्र्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको धारणा राखे । यस्तै उनले आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए । ‘दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ’ क्याङ भिनले भनेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit