काठमाडौं । सन् २०२५ नेपालका लागि राजनीतिक दृष्टिले उल्लास र चुनौतीले भरिएको वर्ष रह्यो। जनतामा छाएको निराशाले राजनीतिक परिवर्तनसँगै देशमा ठूलो विध्वंश समेत भयो । तत्कालीन सत्ता साझेदार दलहरु एमाले र कांग्रेसलगायतको अहमतापूर्ण निर्णयले देशको राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
जेनजी पुस्ताको विद्रोहले देशको नेतृत्व, राजनीतिक दलहरू, युवा शक्ति, र सामाजिक आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा फरक ढंगले परिभाषित समेत गरेको छ। यस वर्षको सुरुवातमै राजनीतिक दलहरूबीच गठबन्धन र विवादको परिस्थितिले देशभरि चर्चा पाउनुकासाथै जनतामा विभिन्न प्रकारका आक्रोस र असन्तुष्टिसमेत पैदा भयो । जसको फलस्वरुप जेनजी आन्दोलनको उत्पति भयो । जसले पूराना नेतृत्व दलहरुलाई चुनौती समेत दिएको छ ।
सामाजिक आन्दोलनको दृष्टिले पनि ०२५ वर्ष महत्वपूर्ण रह्यो । विभिन्न क्षेत्रीय, आर्थिक, र सामाजिक मुद्दाहरूमा नागरिकहरू सडकमा आए, जसले सरकार र राजनीतिक दलहरूलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्यो । यो वर्षमा महिलाहरू र सामाजिक वर्गका प्रतिनिधिहरूले नेतृत्व र निर्णय प्रक्रियामा आफ्नो स्थान बलियो बनाउन कदम चाले । राजनीतिक उल्लासका पक्षहरूमा चुनावी प्रतिस्पर्धा, नयाँ राजनीतिक विचारधारा, र सुधारमुखी एजेण्डाहरूलाई प्राथमिकता दिइयो भने चुनौतीहरूमा भ्रष्टाचार, नीति निर्माणमा ढिलाइ र राजनीतिक अस्थिरता प्रमुख रहे । त्यसैगरी ०२५ ले नेपाललाई भविष्यका लागि सुदृढ लोकतान्त्रिक संरचना निर्माण गर्ने अवसर र चेतावनी दुवै प्रदान गरेको गरेको छ । वितेको एक वर्ष प्रारम्भमा केही सकारात्मक सन्देशहरु पैदा भएपनि वर्षको मध्यतिर आइपुग्दा अस्थिरताले गाँज्न पुग्यो ।
गठबन्धन सरकार
– ०२५को सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक देशको प्रधानमन्त्री बनेका थिए । एमाले र नेपाली कांग्रेस गठबन्धनमा प्रधानमन्त्री बनेका ओलीले राष्ट्रवादी विचारलाई स्थापित गरेपनि निरंकुश रुपमा सत्ता चलाउँदा देशमा विध्वंश मच्चियो । दुई तिहाइको सरकारले नागरिकलाई भरोसा समेत दिन सकेन ।
राजावादी आन्दोलन
गत चैत्र १५ गते राजतन्त्र पुनस्र्थापना र हिन्दू राष्ट्रको माग राख्दै तीनकुनेमा ठूलो प्रदर्शन भएको थियो। सो दिन प्रदर्शनकारी, सुरक्षाकर्मीबीच झडप हुँदा पत्रकार सुरेश रजतले ज्यान गुमाए भने, धेरै घाइते भए। रविन्द्र मिश्र, धवलशम्सेर जवरा, दुर्गा प्रसाईंलगायतका नेता एवं अभियन्ताहरु पक्राउ परे। देशभरबाट सहकारी तथा मिटर व्याजी पीडित बनेकाहरुको समस्यालगायत राजनीतिक मुद्दा बोकेर सडकमा पुगेको प्रर्दशनकारीमाथि सरकारी तवरबाटै बल प्रयोग भयो । जसको परिणाम विस्तारै सरकारप्रति एक तप्काको नागरिकको आक्रोस बढ्दै गयो । त्यसपछि सरकारका काम कारबाही र प्रवृतिले वाक्क बनेका नागरिकको आक्रोश भदौमा आएर एकैचोटी विस्फोट हुँदा दशक देखि राज्यसत्तामा हालिमुहाली चलाएर बसेका तीन दलका शीर्ष नेतृत्व सत्ताको बागडोर छाडेर भाग्नुपर्यो ।
शिक्षक आन्दोलन
यस्तै, लामो समयदेखिको शैक्षिक व्यथिति प्रति आवाज उठाउँदै देशभरका शिक्षकहरु काठमाडौं जम्मा भएर बृहत आन्दोलन गरे। नेपाल शिक्षक महासंघलगायतको अगुवाइमा भएको आन्दोलनले हप्तौंसम्म काठमाडौंका सडकहरु अस्तव्यस्त रहे । सरकारले ल्याएको शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले रोजगार सुरक्षा, सुविधा र अधिकारका लागि व्यापक आन्दोलन सुरु गरेका थिए । काठमाडौंमा लामो समयसम्म प्रदर्शन, १२ कक्षाको परीक्षा स्थगन भयो । तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईले आफूले समस्या सम्बोधन गर्न चाहँदा पनि राजनीतिक दबाबकै कारण काम गर्न नसकेको भन्दै पद्बाट राजीनामा नै दिइन् ।
इतिहासमै सबभन्दा ठूलो राजनीतिक संकट
तत्कालिन केपी ओली नेतृत्वको सरकारले केही सामाजिक सञ्जाल प्रतिबन्धसहित बाँकीमा नियमन गर्ने निणर्य गरेपछि अन्ततः जेनजी पुस्ताको आन्दोलनका रुपमा नयाँ घटना घट्न पुग्यो । फेसबुक,युट्युव इन्सटाग्राम लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि युवा वर्गमा ठूलो आक्रोस् उत्पन्न भयो। जसले नेपालको राजनीतिक इतिहासकै छोटो तर, भिषण र विध्वंसात्मक आन्दोलनको रुप लियो । जसका कारण अर्बौंको भौतिक क्षति भएको छ।
गत भाद्र २३ र २४ गतेको सो घटना २०२५ को सबैभन्दा निर्णायक राजनीतिक मोड मानिन्छ। नेतृत्वहीन युवा विरोध आन्दोलन नेपालको विभिन्न सहरहरुमा फैलियो, भ्रष्टाचार र राजनीतिक व्यथितिको विरुद्धमा २३ भदौमा भएको विरोधमा सरकारले निर्दोष नागरिकमाथि बल प्रयोग गर्यो । स्कूल÷ कलेजका विद्यार्थीमाथि प्रहरीले गोली चलायो । सरकारको दमनले पहिलो दिनको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन क्षणभरको समय लाग्यो । २३ गते मध्यान्ह्रपछि हिंसात्मक बनेको आन्दोलनले त्यसको भोलिपल्ट व्यापक रुप मात्र लिएन, विध्वंशात्मक बन्यो । संसद, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भयो। आन्दोलनका क्रममा ७६ जनाको ज्यान मात्र गएन हजारौं घाइते भए ।
प्रधानमन्त्री राजीनामा
जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले ९ सेप्टेम्बरमा राजीनामा गरे । जुन नेपालमा राजनीतिक इतिहासमा एक ठूलो मोड थियो । अधिकांश नेताहरु सैनिक नियन्त्रणमा रहेभने मुलुकमा सैनिक शासनको व्यापक चर्चा भयो । तथापी, राष्ट्रपति रामचन्द्र पौडेलको सुझवुझपूर्ण कदमले मुलुकले नयाँ अन्तरिम सरकार पायो । १२ सेप्टेम्बर २०२५ मा सुशीला कार्कीक नेतृत्वमा अन्तरिम सरकार गठन भयो। संघीय संसद विघठनत गरियो र प्रतिनिधि सभा निर्वाचनको घोषणा गरियो । इतिहासको पन्नामा नेपालको राजनीतिले नयाँ मोड लियो र नागरिकले केपी ओली नेतृत्वको सरकार ढालेर २७ भदौमा आफ्नो नयाँ सरकार बनाए ।
पुराना दलमा सुधारको पहल, ठूला पार्टीबीच एकता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका १० पार्टीबीच कार्तिक १९ मा एकता घोषणा भयो । कांग्रेस दलभित्र १५औँ महाधिवेशन कहिले गर्ने भन्नेमा ठूलो विवाद रह्यो। एक समूहले चुनावभन्दा पहिले गर्न माग गर्यो भने शेर बहादुर देउवा पक्षले चुनावपछि गर्ने पक्षमामा अडिग रहँदा नेपालको ठूलो र पूरानो पार्टी कांग्रेस अन्योलताको भूमिरीमा फस्यो।
जेनजी समूह फेरि सडकमा
२४–२६ नोभेम्बरमा केही युवा समूहले फेरि विरोध प्रदर्शन गरे, जसमा तत्कालीन प्रधानमन्त्रीसँग भेट हुन नसक्दा उनीहरू असन्तुष्ट देखिए । गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनीहरु सडकमा उत्रिए । केही युवाहरु अझै आन्दोलन र अनसनमा सक्रिय छन् ।
एमालेमा नयाँ नेतृत्व
१४–१६ डिसेम्बरमा एमाले महाधिवेशन गर्यो जसमा केपी शर्मा ओली लगातार तेस्रो पटक अध्यक्ष चुनिए । यता, २०२६ को चुनावका लागि ११४ दल दर्ता भए । निर्वाचन आयोगले ११४ दललाई चुनावमा भाग लिन स्वीकृति दियो, जसले विविध विकल्प र नयाँ राजनीतिक शक्ति उदय भइरहेको छ भन्ने देखायो । डिसेम्बरमा नै सहकारी ठगी मुद्दामा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने थुना मुक्त भए । कुलमान घिसिङ,रवि लामिछाने र बालेन शाहबीचको एकता हाल प्रमुख चर्चाको विषय बनेको छ । पुराना दलविरुद्ध लड्न रास्वपाले नयाँ राजनीतिक माहोल बनाएको छ।
वैकल्पिक राजनीतिक शक्ति चुनावी मैदानमा
जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा केही दल फुटेका छन्। केही जुटेका छन्। पुरानो राजनीतिक संरचना पनि पुनः सन्तुलन खोज्दैछन् । तर, फागुन २१ को घोषित चुनावलाई युवाहरूको वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा उभिनुले अलि फरक बनाउने छ । लामो समयदेखि स्थिरता दिन नसकेको, सुशासनमा असफल हुनु र सत्ता स्वार्थमा डुब्नु, सरकार मात्र फेरिने शासन पुरानै, आर्थिक अनिश्चिततालगायतका आरोप पुराना दलहरूमाथि दोहोरिँदै आएको छ । यही पृष्ठभूमिमा भएको जेन–जी आन्दोलनले अब पुराना दलहरुलाई सुध्रिने मौका दिएको छ । अब यही आन्दोलनको जगमा युवाहरूको वैकल्पिक राजनीतिक शक्ति चुनावी मैदानमा होमिने देखिएको छ। यसले चुनावी माहोललाई रोमाञ्चक सँगै मतदातासामु ‘नयाँ सम्भावना’ रोज्ने विकल्प पनि प्रस्तुत गरेको छ।
वैकल्पिक शक्तिहरू सफल हुनसके भने आगामी निर्वाचन पुराना दलहरूका लागि पनि आत्मसमीक्षाको घडी बन्नेछ । तर, स्पष्ट दृष्टिकोण विना पदको लागि मात्र चुनावमा जाने तथा टिक्न नसक्ने हो भने पुरानै रोग दोहोरिने छ । जसले मतदातामा छाएको उत्साह सँगै जनविश्वास पनि छिट्टै खस्किन्छ। त्यसैले वैकल्पिक दाबी गर्दै आएकालाई आगामी निर्वाचन सुनौलो अवसरका रुपमा आएको त छ तर, नयाँ शक्ति जिम्मेवार बनेनन् भने फेरि जनताले भरोसा गर्न सक्ने छैनन् । यो चुनाव पुराना दलहरूका लागि पनि सुध्रने रआत्मसमीक्षाको घडी हो। किनकि, जेनजी आन्दोलनले परिवर्तनको ढोका खोलिदिएको छ । त्यो ढोका देश निर्माणतर्फ सदाका लागि खुला गर्ने कि देशलाई निराशातर्फ धकेलेर बन्द गर्ने भन्ने फैसला फागुन २१ को निर्वाचनले गर्नेछ ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्