काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताए पनि कांग्रेसको फुटलाई भने जोगाउन सकेनन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौंमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।
देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि त्याग गर्न तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
देउवाको भनाई उदृत गर्दै महतले भने, ‘छलफलमा पार्टी सभापतिले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । यो पार्टी फुट्नु हुदैँन् र मैले यो एकता कायम राख्न मैले के गर्नुपर्छ गर्न तयार छु भन्ने जस्तो कुरा गर्नु भएको छ । उहाँले अहिले हस्ताक्षरको कुरा उठेको रहेछ अरु कसैको टिकटमा हस्ताक्षर दिएर एकता हुन्छ भनेदेखि म तयार छु । केन्द्रीय समितिले नै पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको हो त्यही हस्ताक्षरबाट समानुपातिक, राष्ट्रिय सभाको सुची गयो अब प्रत्यक्षको बाँकी छ यसमा सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुँदैन भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार छु भन्नु भएको छ ।’
यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई चुनाव नलड्न भनेर आग्रह भने नगरेको जानकारी दिए ।
छलफलमा सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई पनि पार्टीको एकता बचाउनका लागि तयार हुन आग्रह गरेको महतको भनाइ छ । तर, पार्टीका तर्फबाट टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा मात्र देउवाले आफू त्यसलाई छोड्न तयार रहेको बताए । उनले नेतृत्व परिवर्तनको मुख्य एजेण्डामा भने दुई महामन्त्रीको मागलाई सम्बोधन गरेनन् ।
कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरी सभापति देउवाको हस्ताक्षर निर्वाचन आयोग पठाइएको थियो। सोहीअनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभामा समानुपातिकतर्फको पार्टीका टिकट वितरण भइसकेको छ। अब प्रत्यक्षतर्फको मात्र टिकट वितरण हुन बाँकी छ ।
अरु विशेष महाधिवेशनलगायतका विषयमा उनीहरुबीच छलफल भएको र केन्द्रीय कार्यसमितिमार्फत ती विषय टुङ्ग्याउन आग्रह गरेका थिए । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा आएका साथीहरुसँग छलफल गर्ने भनेर बैठकबाट निस्किएको महतले जानकारी दिए । कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरको मुख्य एजेण्डा नेतृत्व परिवर्तनको मागलाई अस्विकार गर्दा नेपाली कांग्रेस फुटेको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको निर्वाचन प्रकृया अघि बढाइसकेकाले संस्थापन र महाधिवेशन पक्षधरले अब कांग्रेस फुटको औपचारिक घोषणा मात्रै गर्न बाँकी देखिन्छ ।

















प्रतिक्रिया दिनुहोस्