Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाललाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ:मेयर बालेन

नेपाललाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ:मेयर बालेन
विज्ञापन
Advertisement

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको अनुभवले नेपालजस्तो भूकम्पीय जोखिम भएको मुलुक सुरक्षित संरचना र दीर्घकालीन सोचबिनाको विकासबाट अघि बढ्न नसक्ने स्पष्ट पाठ सिकाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर शाहले काभ्रे जिल्लामा मात्र करिब २५ सय घर निर्माणमा संलग्न भएको र त्यसपछि गोरखासहित देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएको स्मरण गरेका छन्।

उनले अब कहिल्यै पनि त्यस्तो विनाशकारी दिन नआओस् भन्ने कामना व्यक्त गरेका छन्।
मेयर शाहका अनुसार, नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्र विकास सम्भव छैन। ‘भौगोलिक बनावटसँगै हाम्रो विविध समाजलाई माथि उठाउन, विकासका अनेक पाटालाई एकसाथ अघि बढाउन आवश्यक छ,’उनले उल्लेख गरेका छन्।

उनका अनुसार राष्ट्र विकास भनेको भूगोल र जनताको समानान्तर विकास गर्दै ती दुवैलाई जोड्ने बलियो आधार निर्माण गर्नु हो।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिकता र आधुनिकताको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अनिवार्य रहेको उनको भनाइ छ। यही बुझाइका साथ आफू स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका लागि भारत गएको र अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले बताएका छन्।

आज काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै मेयर शाहले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम नागरिकका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको दाबी गरेका छन्। ‘आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ,’ उनले भनेका छन्। उनका अनुसार अब महानगरमा सुरु भएका सुधार र अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।

मेयर शाहले विकासको परिभाषा सडक, भवन र ठूला संरचनामा मात्र सीमित नहुने स्पष्ट पारेका छन्।

उनका अनुसार विकास भनेको सुरक्षित संरचना निर्माण गर्नु, देशको आवश्यकता र जनताको आशालाई जीवित राख्नु तथा देशमै केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नु हो। संस्थागत विकास र समुन्नति कागजमा मात्र होइन, हरेक नागरिकले अनुभूति गर्न पाउनुपर्ने उनको जोड छ।

स्ट्रक्चरल इन्जिनियरका रूपमा आफूले बुझेको मुख्य कुरा उल्लेख गर्दै मेयर शाहले भनेका छन्, ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।’

उनका अनुसार राजनीतिमा आउनुको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु हो।’ नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी गरोस्। संरचना यस्तो बनोस्, जसले विपद् सहन सकोस्। शासन यस्तो होस्, जसले जनताको विश्वास जितोस्,’उनले स्पष्ट पारेका छन्।
मेयर शाहले यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उल्लेख गर्दै सबैको साथ, सहयोग र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit