काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनको लागि अनुमती दिएको हो ।
यो सँगै कामना बैंक अग्राधिकार शेयरको स्वीकृति पाउने नबिलपछि दोस्रो बैंक बनेको छ। बोर्डले ९ प्रतिशत लाभांश दर तोकिएको १०० रुपैयाँ अंकित ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशनको लागि अनुमती प्रदान गरेको छ । विकास बंैकको १८ औं वार्षिक साधारणसभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेर नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र बोर्डमा स्वीकृतीका लागि गएको थियो ।
अग्राधिकार शेयर जारी गर्ने स्वीकृति पाएसँगै बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुने पनि बैंकले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद शेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

















प्रतिक्रिया दिनुहोस्