Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड, १४ वटा सरकारी निकायमा तोकियो ‘फोकल पर्सन’

एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड, १४ वटा सरकारी निकायमा तोकियो ‘फोकल पर्सन’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ। बोर्डले छरितो सेवा प्रवाहमार्फत लगानीको वातावरण थप सुधार गर्ने र लगानी आकर्षणलाई गति दिने लक्ष्यका साथ यो संरचना निर्माणको तयारी थालेको हो।

विज्ञापन
Advertisement
Advertisement

यस प्रयोजनका लागि बोर्डले सहसचिव हेमराज तामाङलाई एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने जिम्मेवारी तोकेको छ भने सेवा प्रवाहलाई प्रभावकारी बनाउन १४ वटा सरकारी निकायले अख्तियारीसहित ‘फोकल पर्सन’ (सम्पर्कव्यक्ति) नियुक्त गरेका छन् ।

फोकल पर्सन तोक्ने निकायमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत् विकास विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरण रहेका छन् । बोर्डले आवश्यक देखेमा अन्य निकायले पनि थप फोकल पर्सन तोक्नसक्ने जनाएको छ ।

बोर्डको कार्यालयले सम्बन्धित मन्त्रालय, विभाग तथा निकायसँग समन्वय गरी एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार पारिसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । उनका अनुसार तत्कालका लागि बोर्डले तोकिएका फोकल पर्सनसँग प्रत्यक्ष समन्वय गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने योजना बनाएको छ ।

कार्यकारी अधिकृत ज्ञवालीले जेनजी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएकाले नयाँ कार्यालय व्यवस्थापन र कार्यविधिले अन्तिम रूप पाएपछि मात्र एकैस्थानबाट सेवा प्रवाह सुरु हुने बताए । उनले ‘अटोमेसन’ (मानवीय हस्तक्षेपबिना उपकरण, कम्प्युटर वा सफ्टवेयरको सहायताले कुनै कार्य वा प्रक्रियालाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधि) प्रणालीमार्फत काम गरिने भएकाले प्रविधिको प्रयोग महत्वपूर्ण हुने बताए । फोकल पर्सनहरूसँगको छलफलमा ज्ञवालीले लगानीसम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न र सुशासन कायम गर्न सबै निकायले अपनत्वसहित काम गर्नुपर्नेमा जोड दिए । ‘लगानी बोर्डले सबैसँग समन्वय गरेर काम गर्छ । यसमा सबै निकायको साथ र सहयोग अपेक्षित छ’, उनले भने।

अहिले विभिन्न निकाय धाउनुपर्ने अवस्थाका कारण लगानीकर्ताले झन्झट बेहोर्नुपरेको भन्दै एकल विन्दु सेवा केन्द्र प्रभावकारी रूपमा कार्यान्वयन भएमा लगानीसम्बन्धी कामकारबाही चुस्त हुने उनको भनाइ छ। ‘हाललाई तोकिएका फोकल पर्सन सम्बन्धित मन्त्रालय तथा निकायका ‘सिङ्गल प्वाइन्ट अफ कन्ट्याक्ट’ हुनेछन् । उहाँहरूले लगानी बोर्डबाट सिफारिस भएका आफ्ना निकायसँग सम्बन्धित फाइल तथा प्रक्रियालाई सहज बनाउन सहजीकरण गर्नेछन्’, कार्यकारी अधिकृत ज्ञवालीले भने।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार फोकल पर्सनले सार्वजनिक–निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७ तथा लगानी बोर्डको रणनीति र व्यावसायिक योजनाअनुसार सेवा प्रवाहमा सहयोग पु¥याउनेछन्। साथै उनीहरूले बोर्डबाट प्राप्त फाइल तथा पत्रको समयमै राय–प्रतिक्रिया दिने, सम्बन्धित निकाय र बोर्डबीच समन्वयकारी पुलको भूमिका निर्वाह गर्ने तथा संस्थागत समन्वयकर्ताका रूपमा काम गर्ने जिम्मेवारी पनि निर्वाह गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit