Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

इयु–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौताले विश्व व्यापार व्यवस्थामा नयाँ सन्तुलन सिर्जना गर्ने अपेक्षा

इयु–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौताले विश्व व्यापार व्यवस्थामा नयाँ सन्तुलन सिर्जना गर्ने अपेक्षा
विज्ञापन
Advertisement

काठमाडौं । युरोपेली सङ्घ (इयु) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा महत्वपूर्ण स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृष्ठभूमिमा सम्पन्न यो सम्झौतालाई दुवै पक्षले आर्थिक तथा भूराजनीतिक रूपमा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पाराग्वेको राजधानी असुन्सिओनमा सम्पन्न हस्ताक्षर समारोहले एक चौथाइ शताब्दीभन्दा लामो, जटिल र कठिन वार्तालाई औपचारिक रूपमा टुङ्ग्याएको छ। अमेरिकी शुल्क नीतिहरू र बढ्दो चिनियाँ निर्यातको दबाबबीच यो सम्झौता इयुका लागि महत्त्वपूर्ण कूटनीतिक विजय मानिएको छ, जसले स्रोत–धनी दक्षिण अमेरिकी क्षेत्रमा युरोपको प्रभाव विस्तार गर्नेछ ।

यस सम्झौताले दक्षिण अमेरिकाले संयुक्त राज्य अमेरिकामाथि मात्र निर्भर नरही व्यापार र कूटनीतिक सम्बन्धहरू विविधीकरण गरिरहेको सन्देश पनि दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमी गोलार्धमा आक्रामक भू–राजनीतिक प्रभुत्व जमाउन खोजिरहेका बेला यो सम्झौतालाई त्यसको प्रतिवादका रूपमा समेत हेरिएको छ। सम्झौता कार्यान्वयनमा जानुअघि युरोपेली संसद्को अनुमोदन आवश्यक रहनेछ, जहाँ केही राजनीतिक र कृषि लबीबाट अवरोधको सम्भावना छ । यद्यपि दक्षिण अमेरिकामा भने यसको अनुमोदन लगभग सुनिश्चित मानिएको छ, किनकि यसले व्यापक राजनीतिक तथा व्यावसायिक समर्थन पाएको छ ।

मर्कोसुर ब्लकमा अर्जेन्टिना र ब्राजिलजस्ता ठूला अर्थतन्त्रसहित पाराग्वे र उरुग्वे समावेश छन् । ब्लकको नयाँ सदस्य बोलिभिया हाल सम्झौतामा समावेश छैन तर आगामी वर्षहरूमा सामेल हुनसक्ने बताइएको छ। भेनेजुएलालाई भने मर्कोसुरबाट निलम्बन गरिएको हुँदा सम्झौताबाट बाहिर राखिएको छ । सम्झौताअन्तर्गत अर्जेन्टिनाको गोमांसदेखि जर्मनीका कारहरूसम्मका ९० प्रतिशतभन्दा बढी वस्तुमा चरणबद्ध रूपमा भन्सार शुल्क हटाइनेछ । यसले करिब ७० करोडभन्दा बढी उपभोक्तालाई समेट्ने विश्वकै ठूलो स्वतन्त्र व्यापार क्षेत्रमध्ये एक निर्माण गर्ने र उपभोक्ताहरूका लागि वस्तु तथा सेवाको मूल्य घटाउने अपेक्षा गरिएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्झौतालाई संरक्षणवादविरुद्धको स्पष्ट सन्देशका रूपमा चित्रण गरिन् । ‘हामी शुल्कभन्दा निष्पक्ष व्यापार रोज्छौँ र अलगावभन्दा दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिन्छौँ’, उनले भनेकी छन् । उनका अनुसार यो सम्झौताले दुवै क्षेत्रका जनता र अर्थतन्त्रलाई समृद्ध बनाउनेछ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि सम्झौतालाई बहुपक्षीय सहयोग र विश्वव्यापी व्यापारको विजयका रूपमा स्वागत गरे । उनले एकपक्षीयता र संरक्षणवादले विश्व अर्थतन्त्रलाई कमजोर बनाउने टिप्पणी गरे ।

यद्यपि, सम्झौताका क्रममा युरोपेली किसानहरूको चासो सम्बोधन गर्न वातावरणीय मापदण्ड, कृषि आयातमा कोटा तथा कर कटौतीका समयसीमा जस्ता प्रावधानहरू समावेश गरिएका छन् । यसका साथै इयुले आफ्ना किसानहरूका लागि थप अनुदानको प्रतिबद्धता जनाएको छ । फ्रान्सजस्ता केही देशमा अझै पनि राजनीतिक विरोध कायम रहेको छ । इयु व्यापार आयुक्त मारोस सेफकोभिकले युरोपेली संसद्मा सम्झौताको अनुमोदन सुनिश्चित गर्न सक्रिय लबिङ सुरु गर्ने जानकारी दिए । उनका अनुसार यो सम्झौताले उच्च कर र शक्ति राजनीतिभन्दा अन्तर्राष्ट्रिय कानून, पूर्वानुमानयोग्यता र खुला व्यापारलाई प्राथमिकता दिने स्पष्ट सन्देश दिएको छ ।

यो सम्झौताले लामो समयदेखि आन्तरिक विवाद र आर्थिक समस्याले कमजोर बनेको मर्कोसुर ब्लकको पुनर्जीवनको सङ्केत पनि दिएको छ । विशेषगरी पहिले मर्कोसुरप्रति संशयवादी रहेका अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई शनिबारको समारोहमा खुलेर सम्झौताको समर्थनमा उभिएको छ । उनले बन्द अर्थतन्त्र र संरक्षणवाद नै आर्थिक अस्थिरताको मुख्य कारण भएको टिप्पणी गरे ।

विश्लेषकहरूका अनुसार इयु–मर्कोसुर स्वतन्त्र व्यापार सम्झौताले विश्व व्यापार व्यवस्थामा नयाँ सन्तुलन सिर्जना गर्नेछ र बहुपक्षीय सहकार्यको महत्त्वलाई पुनः स्थापित गर्नेछ । एपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit