काठमाडौं । नेपालको खाद्य सुरक्षाका लागि प्रमुख बालीका रूपमा रहेको धानको उत्पादन चालु आर्थिक वर्ष २०८२-८३ मा घट्ने प्रारम्भिक अनुमान गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.२० प्रतिशतले कमी आई ५७ लाख ५ हजार १ सय २६ मेट्रिक टनमा सीमित हुने अनुमान छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आ।व। २०८१-८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५.१६ प्रतिशत रहेको थियो भने कृषि क्षेत्रभित्र धानबालीको योगदान करिब १२ प्रतिशत रहेको छ। यस कारण धान उत्पादनसम्बन्धी तथ्याङ्क नीति निर्माणकर्ता, अनुसन्धानकर्ता तथा आम सर्वसाधारणको चासोको विषय बन्दै आएको छ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धान बाली भित्राइएको क्षेत्रफल १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर रहने अनुमान छ, जुन अघिल्लो वर्षको १४ लाख २० हजार ६ सय ३६ हेक्टरको तुलनामा ३.८ प्रतिशतले कम हो। यस्तै, उत्पादकत्व पनि अघिल्लो वर्षको ४.१९ मेट्रिक टन प्रतिहेक्टरबाट घटेर ४.१४ मेट्रिक टन प्रतिहेक्टरमा झरेको छ।
धान उत्पादनको अनुमान सातै प्रदेशका कृषि क्षेत्राधिकार भएका मन्त्रालयबाट प्राप्त तथ्याङ्कका आधारमा तयार गरिएको मन्त्रालयले जनाएको छ। क्षेत्रफल अनुमान गर्दा अघिल्ला वर्षका तथ्याङ्क, रोपाइँको अवस्था, सिँचाइ क्षेत्रमा आएको परिवर्तन, किसानसँगको अन्तर्क्रिया तथा जमिनको अन्य प्रयोगमा भएको परिवर्तनलाई आधार बनाइएको छ।
उत्पादकत्व अनुमान कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गरिएका बाली कटानीका तथ्याङ्कका आधारमा गरिएको हो।
धान बालीको क्षेत्रफल र उत्पादन घट्नुका मुख्य कारणका रूपमा पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ, युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण, फलफूल तथा नगदेबालीको विस्तार उल्लेख गरिएको छ। तराई तथा शहरी क्षेत्रमा बढ्दो आप्रवासन, जमिनको औद्योगिक तथा भौतिक पूर्वाधार निर्माणमा प्रयोग, र मधेश प्रदेशमा धान रोपाइँको समयमा परेको खडेरीले पनि क्षेत्रफल घटाएको मन्त्रालयको भनाइ छ।
यद्यपि यस वर्ष उन्नत बीउबिजन र मलखादको पर्याप्त उपलब्धता रहे पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा अपेक्षित वृद्धि हुन नसकेको जनाइएको छ। क्षेत्रफल र उत्पादकत्व दुवै घटेकाले समग्र धान उत्पादनमा कमी आएको मन्त्रालयले निष्कर्ष निकालेको छ।
















प्रतिक्रिया दिनुहोस्