Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

क्यान्सरको उपचार : शल्यक्रिया विधि

क्यान्सरको उपचार : शल्यक्रिया विधि
विज्ञापन
Advertisement

 काठमाडाैं । क्यान्सर शरीरको कुनै पनि भागको जीवित कोषमा हुनसक्छ । साधारण भाषामा क्यान्सर र ट्युमर शब्दावली एउटै रोगका लागि प्रयोग गरिए पनि यी दुई शब्दको बीचमा अन्तर छ । सबै क्यान्सर ट्युमर हुन्, तर सबै ट्युमर क्यान्सर होइनन् । शरीरमा आउने कुनै पनि असामान्य गाँठागुँठीलाई ट्युमर भनिन्छ भने क्यान्सर एउटा विशेष प्रकारको ट्युमर हो जुन शरीरका अन्य अङ्गमा फैलिने गर्छ ।

विज्ञापन
Advertisement
Advertisement

क्यान्सरलाई शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी र इम्युनोथेरापीजस्ता विधिबाट हटाउन सकिन्छ । इम्युनोथेरापीमा क्यान्सर कोषविरुद्ध शरीरमा एन्टिबडी तयार पारिन्छ । रेडियोथेरापीमा रेडियो विकिरण प्रयोग गरेर क्यान्सरका कोष नष्ट गरिन्छ भने केमोथेरापीमा औषधीको प्रयोग गरिन्छ । क्यान्सर लागेको अङ्गलाई काटेर हटाउने विधि शल्यक्रिया हो र यो नै ठोस अङ्गमा भएका क्यान्सरको सबैभन्दा प्रभावशाली उपचार पद्दति हो ।

शल्यक्रिया गर्न मिल्ने ठोस अङ्गमा भएको क्यान्सर प्रारम्भिक चरणमा छ र अरु अङ्गमा फैलिएको छैन भने शल्यक्रियाबाट मात्र पनि पूर्णतया निको हुनसक्छ । प्रारम्भिक चरणभन्दा बढिसकेको क्यान्सरलाई शल्यक्रियाका साथसाथै माथि उल्लेखित अन्य उपचार पद्दतिको पनि प्रयोग गरिन्छ । धेरै नै फैलिएको क्यान्सरहरुमा शल्यक्रिया नगरि अन्य उपचार विधि अपनाइ राहत दिने गरिन्छ ।

अन्यत्र फैलिएको छ, छैन भनेर सीटी स्क्यान, एमआरआई, रेडियो न्युक्लियर परीक्षण तथा पेटस्क्यान आदिबाट हेर्न सकिन्छ । तर, यी विधिबाट क्यान्सर शतप्रतिशत पत्ता नलाग्न पनि सक्छ । क्यान्सर पत्ता लाग्न निश्चित आकारको हुनुुपर्छ । रक्त सञ्चारका माध्यमबाट सानो कणको रुपमा अर्को अङ्गमा पुगेर बसिसकेको तर निश्चित आकार नलिइसकेको अवस्थामा सीटी स्क्यान, एमआरआई तथा पेट स्क्यानबाट पनि पत्ता लगाउन सकिँदैन ।

आँखाले देख्न नसकिने खालका यस्ता क्यान्सरका कोषहरुको कारण प्रारम्भिक अङ्गको शल्यक्रिया गरेपछि पनि भविष्यमा अन्य अङ्गहरुमा बल्झने सम्भावना हुन्छ । यसैले सुरुको चरणमा रहेको र अन्यत्र नफैलिएको क्यान्सर शल्यक्रिया गरेपछि फेरि नबल्झने सम्भावना धेरै रहन्छ भने विकसित अवस्थामा गइसकेको क्यान्सर अन्यत्रतिर फैलिने सम्भावना बढी हुन्छ । प्रारम्भिक अङ्गमा ट्युमरको गहिराइ कति छ, नजिकका कति लिम्फ ग्ल्यान्डहरुमा पुगेको छ र अन्य अङ्गहरुमा फैलिएको छ कि छैन, त्यसैका आधारमा क्यान्सरको स्टेज तय गरिन्छ ।

पहिचान गर्ने तरिका
बिरामीको हिस्ट्री, लक्षण र परीक्षणका माध्यमबाट प्रायःजसो क्यान्सरको निदान गरिन्छ । प्रारम्भिक रुपमा रगत परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड र ट्युमर मार्करहरु परीक्षण गरिन्छ । त्यसपछि सीटी स्क्यान, एमआरआइका माध्यमबाट पनि क्यान्सर पहिचान गरिन्छ । यी सबै खालका परीक्षण र उपचारका साथै शल्यक्रिया–सेवा पनि नर्भिकमा उपलब्ध छ ।

बिरामीले ध्यान दिनुपर्ने कुरा
शल्यक्रिया गरेपछि बिरामीले ध्यान दिनुपर्ने कुराहरु क्यान्सरअनुसार फरक–फरक हुन्छन् । विशेषगरी सम्बन्धित चिकित्सक र अपरेशन गर्ने चिकित्सकले दिने निर्देशन पालना गर्नुपर्छ । नियमित चेकअपमा रहनुपर्छ । धेरैजसो क्यान्सरका बिरामीलाई उपचारपश्चात् २ वर्षसम्म तीन–तीन महिनामा चेकअपका लागि बोलाइन्छ र त्यसपछि बर्सेनि जाँच गरिन्छ । क्यान्सर कुन स्टेजको र कति फैलिएको छ, त्यसले पनि चेकअपका लागि बोलाउने समय फरक पर्न सक्छ ।

पेटसम्बन्धी शल्यक्रिया गरिएको छ भने खानपानमा ध्यान दिनुपर्छ । नत्र भने सामान्य खाना खान सकिन्छ । यसबाहेक क्यान्सर गराउन सक्ने चुरोट, रक्सीजस्ता पदार्थको प्रयोग गर्नुहुँदैन ।
क्यान्सरको शल्यक्रिया कति सफल भन्ने कुरा त्यसको स्टेजमा भर पर्छ । सुरुवाती चरणमै क्यान्सर भएको अङ्ग शल्यक्रिया गरेर पूर्ण रुपमा निकाल्न सकियो भने त्यो स्टेजका लागि उक्त उपचार सफल मानिन्छ । यस्तै, ट्युमर फैलिइसकेको छ र शल्यक्रिया गर्न नमिल्ने छ भने त्यसका लागि किमोथेरोपी तथा रेडियोथेरापीका माध्यमबाट पीडा, दुखाइ घटाउन सकियो भने त्यसलाई सफल मानिन्छ । त्यसकारण कति सफल भन्ने कुरा क्यान्सरको स्टेज, बिरामीको अवस्था र उमेरअनुसार फरक हुन्छ । यस्तै, सर्जरीका लागि लाग्ने समय पनि कुन अङ्गमा फैलिएको छ भन्ने आधारमा निर्धारण हुन्छ ।

प्रा. डा. मुकुन्दराज जोशी नर्भिक अस्पतालमा चिफ कन्सल्टेन्ट जनरल सर्जनको रुपमा कार्यरत हुनुहुन्छ । 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit