जनकपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन्।
बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे। ‘प्रधानमन्त्री हामी नै हुन्छौं । हामी यो देशको परिवर्तन गरेर लिड गर्नलाई आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन,’ अध्यक्ष घिसिङले भने,‘भाषण गरेर मात्र प्रधानमन्त्री भइँदैन् काम गरेर देखाएपछि जनताले छानेर मात्र भइने हो । त्यो हामीले डेलिभरी गरेर देखाइसकेका छौं ।’
उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने समेत बताए । अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरुको रहेको उनको भनाइ थियो । अध्यक्ष घिसिङले प्रदेशको ८ वटै जिल्लामा आफ्नो पार्टीका उम्मेदवारहरु भएकोले सबै स्थानमा पुग्ने जानकारी दिए ।
यस्तै, उनले आज जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा पाठ गरेका छन्। त्यस्तै,जनकपुरधामस्थित पिडारी चोकमा पार्टीको सम्पर्क कार्यालयको पनि उनले उद्घाटन गरेका छन् । अध्यक्ष घिसिङले आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने बताएका छन् ।

















प्रतिक्रिया दिनुहोस्