काठमाडौं ।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको विद्यमान आर्थिक परिदृश्य आन्तरिक संरचनागत चुनौतीका बाबजुद पनि आशालाग्दो दिशातर्फ उन्मुख रहेको बताएका छन्। चालु आर्थिक वर्षको पहिलो छ महिनाको बजेट कार्यान्वयनसम्बन्धी आन्तरिक समीक्षा सार्वजनिक गर्दै उनले विश्व अर्थतन्त्रमा देखिएको उतारचढाव र छिमेकी राष्ट्रहरूको आर्थिक विस्तारबीच नेपालले क्रमशः लय समात्दै गएको उल्लेख गरे।
अर्थमन्त्री खनालका अनुसार सरकारको प्राथमिकता सार्वजनिक वित्त व्यवस्थापनमा ‘विनियोजन कुशलता’ र ‘कार्यान्वयन दक्षता’ अभिवृद्धि गर्नु रहेको छ। भौतिक संरचनामा पुगेको क्षति र आन्तरिक असहज परिस्थितिका कारण पुँजीगत खर्चमा केही संकुचन आएको भए पनि अनुत्पादक खर्च कटौती र मितव्ययिताको नीति कडाइका साथ लागू गरिएको उनले बताए।
पूर्व तयारी नभएका तथा न्यून प्रतिफल दिने साना आयोजनाहरू स्थगन गरी सीमित स्रोतलाई राष्ट्रिय गौरव र रणनीतिक महत्वका रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने नीति सरकारले अघि सारेको छ।
बैङ्क तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता, न्यून मुद्रास्फीति र घट्दो ब्याजदरले निजी क्षेत्रको लगानीका लागि सकारात्मक वातावरण सिर्जना भएको अर्थमन्त्रीको भनाइ छ।
दोस्रो पटक सम्पन्न सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ ले अन्तर्राष्ट्रिय वित्त बजारमा नेपालको साख बढाएको र लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुगेको उनले बताए। तर, यस्ता सकारात्मक संकेत हुँदाहुँदै पनि उत्पादनशील क्षेत्रमा अपेक्षित लगानी बढ्न नसकेको भनाइ छ ।
संरचनागत सुधारअन्तर्गत वित्तीय सङ्घीयताको सुदृढीकरण, विद्युतीय भुक्तानी प्रणालीको पूर्ण कार्यान्वयन तथा राजस्व प्रशासनको आधुनिकीकरणलाई सरकारले मुख्य स्तम्भका रूपमा अघि बढाएको छ।
वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र उच्च प्रतिफलयुक्त क्षेत्रमा मात्र परिचालन गर्ने तथा आन्तरिक राजस्वको आधार विस्तार गर्दै वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गरे।
उनका अनुसार विद्यमान शोधनान्तर बचत र विप्रेषण आप्रवाहलाई उत्पादनमूलक क्षेत्रमा रूपान्तरण गर्दै दिगो, समावेशी र संरचनागत रूपान्तरणमुखी आर्थिक वृद्धि हासिल गर्नु सरकारको मुख्य लक्ष्य हो।
प्रस्तुत समीक्षा चालु आर्थिक वर्षको पहिलो छ महिनाको बजेट कार्यान्वयनको आन्तरिक मूल्याङ्कन भएको उल्लेख गर्दै उनले बाँकी अवधिमा घोषित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गरे।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्