धनुषा । धनुषाको सुमित कुमार मण्डलको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषामा बिहीबार (१४ गते) घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो। सो घटनाको अनुसन्धानबाट धनुषा प्रहरीले प्रेम सम्बन्धका कारण युवकको हत्या भएको खुलेको जनाएको छ। धनुषा प्रहरीले पत्रकारसम्मेलन गरी सो घटनामा तीन जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
धनुषाको औरही गाउँपालिका ६ चक्कर स्थित स्थानीयको खेतमा बिहीबार हंसपुरका २० वर्षिय सुमित कुमार मण्डलको हत्या भएको अवस्थामा शव फेला परेको थियो । धनुषा प्रहरीले घटनाको २४ घण्टा नबित्दै सुमितको हत्याका आरोपी उनको प्रेमिका, काका र भाईलाई पक्राउ गरेको हो । प्रहरीको अनुसार पक्राउ पर्नेहरूमा २९ वर्षीय परमेश्वर मण्डल, २० वर्षीय दीपेश मण्डल र १८ वर्षीया काजल मण्डल रहेका छन्।
प्रहरी अनुसन्धानका अनुसार प्रमिका भेट्न पुगेका सुमित कुमारलाई पे्रमिकाको काकाले देखेपछि सुमितमाथि कुटपित भएको थियो । कुटपिटपछि सुमितको हात पछाडि बाँधेर परमेश्वर मण्डलको मोटरसाइकलमा राखी औरही गाउँपालिका वडा नं.६ चक्करस्थित एकान्त खेतमा पुर्याइएको थियो। त्यहाँ दीपेश मण्डलले आफूसँग रहेको ’दाब’ (धारिलो हतियार) ले सुमितको घाँटीमा पटक–पटक प्रहार गरी हत्या गरेको खुल्न आएको छ। सुमितको शव फागुन १४ गते दिउँसो सडकभन्दा करिब ३०० मिटर टाढा खेतमा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले घटना विवरण सुनाउँदै भने, ‘बुधबार साँझ ६ बजे सुमित सोही पालिकाका वडा नम्बर ६ सोनिगामा बस्ने प्रेमिका काजल मण्डलसँग भेटन गएका थिए। सोही क्रममा काजलको काका परमेश्वर मण्डलले आफ्नो पसल बन्द गरी घरमा आउँदा दुबै जनालाईसँगै बसेको देखि सुमितलाई कोठाबाट बाहिर निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।’
घटना पश्चात पक्राउ पर्ने डरले मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले छिमेकी गाउँमा रहेको आफ्नो एक जना साथीको घरमा लुकाएर राखेका थिए । घटनामा प्रयोग भएका हतियार समेत नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार सुमित र काजलबीच करीब १ वर्षदेखि चिनजान र कुराकानी भइरहेको थियो ।















प्रतिक्रिया दिनुहोस्