काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
भर्खरै सम्पन्न आम निर्वाचनबाट १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको रास्वपाले आज ललितपुरको ग्वार्कोस्थित एक होटेलमा उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
रास्वपाले सांसदहरूलाई संसदीय मर्यादा, नीति निर्माणमा भूमिका तथा प्रविधिको प्रयोगबारे सघन प्रशिक्षण दिन लागेको हो।
रास्वपाले पहिलो दिन सांसदहरुलाई के सिकाउँदैछ ?
संसदीय संरचना : पूर्वसचिव सुरेश अधिकारीले संसदको कार्यप्रणालीबारे रास्वपा सांसदहरुलाई अभिमुखिकरण गर्नेछन् ।
कानुन निर्माण : पूर्व कानुन सचिव तोयानाथ अधिकारीले विधेयक निर्माण प्रक्रियाबारे प्रशिक्षण दिँदा आईटी विज्ञ डा.दोभान राईले राजनीतिमा ‘एआई र एल्गोरिदमको प्रभावबारे विशेष प्रस्तुति दिने रास्वपाले जनाएको छ ।
यस्तै, आजकै सत्रमा शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम र मनिष झा लगायतका नेताहरूले पुरानो संसदको अनुभव सुनाउने तालिका छ । साँझको सत्रमा १५ वटा समूह बनाएर चुनावी प्रतिवेदन र आगामी योजनाबारे नयाँ सांसदसँग नेतृत्व तहले छलफल गर्नेछ ।
साँझ ७ बजेदेखि राति १० बजेसम्म उपस्थित सांसहरुबीच परिचयात्मक कार्यक्रम गरेर पहिलो दिनको कार्यक्रम सकिने रास्वपा सचिवालयले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह भने स्वास्थ्य र कार्यव्यस्थताको कारण देखाउँदै उपस्थित भएका छैनन्। पार्टीले सांसदहरूका लागि कडा आचारसंहिता लागू गरेको छ। कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गर्दै सबै सांसदहरूलाई औपचारिक पोशाकमा उपस्थित हुनलगायतका ७ बुँदे निर्देशन जारी गरेको छ।















प्रतिक्रिया दिनुहोस्