काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिक्षकका मागप्रति नकारात्मक नरहेको भन्दै सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिए । उनले तीन सातादेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरे ।
‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन । संभव मागहरु सबै पूरा गर्छ। तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ,’ प्रधानमन्त्री ओलीले भने । उनले सरकार शिक्षकहरुको सम्भव मागहरु सबै पूरा गर्न तयार रहेको बताए ।
यस्तै, प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको भन्दै सम्भव माग पूरा गरेर शिक्षकहरुलाई विद्यालयमा फर्किन आग्रह गरे । ‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ ।’ शिक्षकहरुलाई आग्रह गर्दै भने, ‘वार्तामा आउनुस्, कुरा गर्नुस्, सम्भव कुरा सरकारले गर्दिन्छ । फर्किएर आ–आफ्ना काममा जानुस् ।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

















प्रतिक्रिया दिनुहोस्