Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
विज्ञापन
Advertisement

म्याग्दी । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि रु ६२ करोड विनियोजन भएको थियो ।

बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्यभन्दा पाँच महिनाअघिनै सम्पन्न भए पनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताए ।

दुई करोड बजेट विनियोजन भएको यो योजनाका लागि थप रु दुई करोड ५० लाख बजेट अपुग भएको छ ।

गलेश्वर–पुलाश्रम (पछै) जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि लक्ष्यभन्दा पाँच महिनाअघिनै योजना सम्पन्न गरे पनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपूर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गरे ।

हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताए । क्रमागत १७ वटा योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको थियो ।

सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए ।

‘सालबसाली योजनाहरुको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेका छौँ’, उनले भने ।, ‘बजेट भएका योजनामा काम नहुँदा खर्च गर्न सकिएको छैन, काम भएका योजनाको बजेट सकिएपछि व्यवसायीलाई काममा लगाउन समस्या भएको छ ।’

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरङ्जा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्रि खोला सडक पुल, रुमदेखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(२) का क्रमागत बहुवर्षीय योजनाहरु हुन् ।

निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधीन छन् ।

एक÷एक करोड बजेट विनियोजन भएको बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको छ ।

एक करोड बजेट विनियोजन भएको फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितता भएको छ ।

जिल्लाका प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधि लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीयमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

अपुग बजेट रकमान्तरण गरेर काम गरेका व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको उनले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit