Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

निजी क्षेत्र–सरकार सहकार्यबाट मात्र आर्थिक रूपान्तरण सम्भव : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ

निजी क्षेत्र–सरकार सहकार्यबाट मात्र आर्थिक रूपान्तरण सम्भव : नवनिर्वाचित अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट मात्र नेपालको आर्थिक रूपान्तरण सम्भव हुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सभालाई सम्बोधन गर्दै उनले महासंघ पाँच लाखभन्दा बढी उद्यमी व्यवसायीको साझा संस्था भएको उल्लेख गर्दै आगामी तीन वर्ष आफ्नो नेतृत्वमा निजी क्षेत्रको मनोबल वृद्धि, लगानी प्रवर्द्धन र अर्थतन्त्र विस्तारमा केन्द्रित रहने प्रतिबद्धता जनाए।

उनका अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ८२ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको छ। ‘निजी क्षेत्र सरकारको सहयात्री मात्र होइन, अर्थतन्त्रको प्रमुख साझेदार हो,’ उनले भने।

अध्यक्ष श्रेष्ठले देश अहिले अवसर र चुनौतीको दोसाँधमा रहेको उल्लेख गर्दै स्थिर सरकार, पर्याप्त तरलता, उच्च विदेशी मुद्रा सञ्चिति र सुशासनप्रतिको प्रतिबद्धता सकारात्मक पक्ष भएको बताए। तर मध्यपूर्व संकट, बढ्दो राजस्व घाटा, कमजोर कर्जा प्रवाह र निजी क्षेत्रको घट्दो मनोबल प्रमुख चुनौतीका रूपमा रहेको उनले औंल्याए।

उनले पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता र दीर्घकालीन सोचको अभावका कारण अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए। ‘सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले राम्रो नीतिले पनि परिणाम दिन सकेन,’ उनले भने।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनर्स्थापना र युवाको आकांक्षालाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो कार्यकालमा सरकारसँगको सम्बन्ध पुनःपरिभाषित गर्दै नीति निर्माणदेखि अन्तर्राष्ट्रिय वार्तासम्म निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने बताए।

उनले उद्यमीप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न अभियान सञ्चालन गरिने उल्लेख गर्दै व्यवसायीलाई ‘सम्पत्ति निर्माता’ र ‘राज्यको साझेदार’ का रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।

साथै, निजी सम्पत्ति सुरक्षा, व्यावसायिक अधिकार संरक्षण र विवाद समाधान प्रक्रियामा सुधारका लागि महासंघले पहल गर्ने बताए।

निजी लगानी वृद्धि, स्वदेशी पुँजी परिचालन र विदेशी लगानी सहज बनाउन नीतिगत सुधारमा सरकारसँग निरन्तर संवाद गरिने उनको भनाइ थियो। उनले महासंघलाई केन्द्रदेखि जिल्ला तहसम्म सशक्त बनाउने, सदस्य सेवामा सुधार ल्याउने र सचिवालयलाई व्यावसायिक बनाउने योजना पनि प्रस्तुत गरे।

अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका लागि ‘छ स्तम्भ, साठी पहल’ को विस्तृत कार्ययोजना तयार भइसकेको जानकारी दिँदै आर्थिक सुधार, सुशासन, प्रतिस्पर्धात्मकता, श्रम–सीप विकास र निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकता दिइने बताए।

उनले महासंघ अब केवल माग राख्ने संस्था नभई समाधान प्रस्तुत गर्ने साझेदारका रूपमा अघि बढ्ने उल्लेख गर्दै सरकारसँग सहकार्य गरेर ठूला आर्थिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाए।

सम्बोधनको अन्त्यमा उनले नेपालको आर्थिक रूपान्तरण सरकार वा निजी क्षेत्र एक्लैले सम्भव नभएको उल्लेख गर्दै ‘साझेदारी, सहकार्य र विश्वास नै समृद्धिको आधार हो भन्ने धारणा व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit