Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नेपालका आइटी व्यवसायी अमेरिकामा, नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्र बनाउनेबारे छलफल

नेपालका आइटी व्यवसायी अमेरिकामा, नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्र बनाउनेबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र यसको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास–आइटी) र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमा कार्यक्रम आयोजना गरिएको थियो। उक्त रोडशोमा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रोडशोका क्रममा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे विस्तृत चर्चा गरेका थिए।

कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार हाल नेपालका २,००० भन्दा बढी प्रविधि कम्पनीहरू सञ्चालनमा छन्। जहाँ १ लाखभन्दा बढी टेक प्रोफेसनलहरू आबद्ध रहेका छन् भने नेपालले वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात गर्दै आएको छ। पछिल्ला वर्षहरूमा नेपालको प्रविधि क्षेत्रमा भएको यो अभूतपूर्व प्रगतिले धेरै डायस्पोरा (गैरआवासीय नेपाली) सदस्यहरूलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले उल्लेख गरे।

कार्यक्रममा नास–आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रग टेक्नोलोजीका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण, प्रविधि क्षेत्रमा देखिएका अवसर र भावी दिशाबारे आफ्ना अनुभव तथा धारणाहरू साझा गरेका थिए।

नास–आईटीले यसअघि अष्ट्रेलियामा सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा अमेरिकाकै ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ को सफलतापछि आयोजित यो यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ। कार्यक्रमले द्विपक्षीय सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसरहरू सिर्जना गरेको आयोजकको दाबी छ।

अमेरिकाको डेक्सपट्र्स इंकको मुख्य सहकार्यमा आयोजना भएको यस रोडशो कार्यक्रममा नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स एसोसिएट पार्टनरका रूपमा रहेको थियो। त्यस्तै कार्यक्रमलाई फोकस हेल्थ, फ्युजमेसिन्स र ग्लोबल आईएमई बैंक लगायतका संस्थाहरूले सहकार्य गरेका थिए।

नेपालको सफ्टवेयर तथा आईटी सेवा क्षेत्रको अग्रणी गैरनाफामूलक उद्योग संस्था नास–आईटीले नीतिगत पैरवी, दक्ष जनशक्ति विकास, नवप्रवर्तन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत नेपालको प्रविधि उद्योगको विश्वव्यापी पहिचान बढाउने काम गर्दै आएको छ। संस्थाले सहकार्य, उद्यमशीलता र डिजिटल रूपान्तरणमार्फत नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit