काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारबीच बुधबार ५ बुँदे सहमति भएको छ । सहमतिसँगै खानले २३ दिनदेखि जारी अनशन अन्त्य गरेकी छन् ।
बाँकेको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायत माग राखेर उनी नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत थिइन् । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले उनलाई पानी खुवाएर अनशन तोडाएकी हुन् ।
सरकारका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दिपा दाहाल सहभागी टोलीले खानसँग निरन्तर वार्ता गरेपछि सहमति जुटेको हो ।
सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ ।
त्यस्तै, खानले उठाएका अन्य घटनाको अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट गराइने र कमजोरी भेटिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गरिने सहमति भएको छ ।
खानविरुद्ध दर्ता गरिएको ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मुद्दाको अनुसन्धान पनि तत्काल टुङ्ग्याइने जनाइएको छ । साथै, उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखसहित प्रहरी कर्मचारीको भूमिकाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने सहमति भएको छ ।
सहमतिमा आन्दोलनरत खान तथा अन्य महिला अधिकारकर्मीको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेलाई आवश्यक निर्देशन दिने उल्लेख छ ।
सहमतिपत्रमा मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् ।








कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्