काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग शिष्टाचार भेट गरेका छन्।
बुधबार भएको भेटमा संघले डा. भट्टको नेतृत्वमा नेपालको पुँजी बजार थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो। जवाफमा अध्यक्ष भट्टले निजी क्षेत्रसँगको सहकार्य र निरन्तर संवादलाई आगामी दिनमा पनि प्राथमिकतामा राखिने बताए ।
भेटका क्रममा नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको संघले जनाएको छ। विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा प्राइभेट इक्विटी क्षेत्रलाई थप व्यवस्थित बनाउने, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई अझ गतिशील र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो।
यसैगरी बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गर्दै लगानीकर्ताको विश्वास सुदृढ बनाउने आवश्यकतामा पनि दुवै पक्षले जोड दिएका छन्।
नेपाल मर्चेन्ट बैंकर्स संघका अनुसार छलफलको अन्त्यमा संघ र सेबोनले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्