काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव, पेशागत सञ्जाल र प्रतिभालाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । ग्लोबल नेपाली प्रोफेसनल नेटवर्क (जीएनपीएन) ले स्ट्यानफोर्ड विश्वविद्यालयमा आयोजना गरेको कार्यक्रममा ‘डायस्पोरा नलेज ब्रिजेज’ अवधारणामार्फत विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन र पेशागत अनुभवलाई नेपालको दीर्घकालीन विकाससँग जोड्ने विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) का संस्थापक तथा अध्यक्ष डा. खगेन्द्रराज ढकालले ‘नेपालको विकासमा डायस्पोराको ज्ञान, सीप र प्रतिभा परिचालन गर्ने नीतिगत रोडम्याप’ विषयमा प्रस्तुति दिएका थिए । उनले नेपालसँग गहिरो रूपमा जोडिएको विश्वव्यापी नेपाली समुदाय रहेको उल्लेख गर्दै अब चुनौती डायस्पोराले नेपाललाई माया गर्छ कि गर्दैन भन्ने नभई नेपालले त्यो सम्बन्धलाई दीर्घकालीन राष्ट्रिय क्षमतामा रूपान्तरण गर्न सक्ने संरचित प्रणाली निर्माण गर्न सक्छ कि सक्दैन भन्ने रहेको बताए ।
‘नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र निर्माण हुने छैन,’ डा. ढकालले भने, ‘विश्वभर छरिएका नेपाली डायस्पोराको बुद्धि, सिर्जनशीलता र प्रतिबद्धतालाई नेपालले कति प्रभावकारी रूपमा जोड्न सक्छ भन्ने कुराले पनि नेपालको भविष्य निर्धारण गर्नेछ ।’
उनले अमेरिका, बेलायत र अस्ट्रेलियामा रहेका नेपाली डायस्पोरामाथि गरिएको प्रारम्भिक अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै विश्वभर रहेका नेपालीहरूमा नेपालका लागि योगदान गर्ने तीव्र इच्छा भए पनि करिब २० प्रतिशत मात्रै अर्थपूर्ण रूपमा संलग्न रहेको बताए । झन्डै ७० प्रतिशतले योगदान गर्न चाहेको तर त्यसका लागि स्पष्ट मार्ग वा संयन्त्र नभएको उनको भनाइ थियो ।
डा. ढकालले परराष्ट्रमन्त्री शिशिर खनालले पनि डायस्पोरा ज्ञान नेटवर्कलाई अर्थपूर्ण रूपमा संलग्न गराउने विषयमा चासो व्यक्त गरेको जानकारी दिए । भावी डायस्पोरा संलग्नता संयन्त्र दुवै पक्षका लागि लाभदायी सहकार्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सान फ्रान्सिस्को बे एरिया लगायत विभिन्न क्षेत्रका नेपाली मूलका पेशाकर्मी, अनुसन्धानकर्ता, उद्यमी, प्रविधिविज्ञ, विद्यार्थी, सञ्चारकर्मी तथा नीति क्षेत्रमा चासो राख्ने व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले अनुसन्धान, नवप्रवर्तन, युवा नेतृत्व, डिजिटल संलग्नता र विश्वविद्यालय सहकार्यलगायत विषयमा धारणा राखेका थिए ।
कार्यक्रमको समापन गर्दै डा. ढकालले जीएनपीएनका प्रतिनिधिहरूलाई एनपीआई–जीएनपीएन संयुक्त पोलिसी टास्क फोर्समा सहभागी हुन आमन्त्रण गरेका छन् । उक्त कार्यदलले ‘डायस्पोरा नलेज रिक्यापिटलाइजेसन फ्रेमवर्क’ तयार गर्ने लक्ष्य राखेको छ ।















प्रतिक्रिया दिनुहोस्