गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहणको सम्झनामा आयोजित छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अनुसार समुद्री सतहबाट चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन ४२.१९५ किलोमिटर दूरी पार गर्दै घान्द्रुकमा सम्पन्न हुनेछ ।
सामान्यतया पदयात्रीले तीन दिन लगाएर पार गर्ने यो पदमार्ग उत्कृष्ट धावकहरूले चार घण्टाभन्दा केही बढी समयमा पूरा गर्ने गरेका छन् । समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङका अनुसार अघिल्ला पाँच संस्करणमा विजेता धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटभित्र दूरी पार गरेका थिए ।
यस वर्षको प्रतियोगितामा हालसम्म १३ विदेशीसहित ४० जना धावकले नाम दर्ता गराइसकेका छन् । अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटा पनि प्रतियोगितामा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ । पुरुष तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः रु एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, देउराली, हिमालय, दोभान, सिनुवा, छोम्रोङ, चुइँले, कोम्रोङडाँडा हुँदै घान्द्रुक पुगेर सम्पन्न हुनेछ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण प्रथम हिमालको महिमा र गरिमालाई विश्वमाझ चिनाउन २०७५ सालदेखि नियमित रूपमा अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेपछि विश्वमा हिमाल आरोहणप्रति चासो बढेको इतिहास छ ।
समितिका अनुसार अन्नपूर्ण म्याराथनले गण्डकी प्रदेशको हिमाली पर्यटन प्रवर्द्धन, साहसिक खेल पर्यटन विस्तार तथा अन्नपूर्ण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्