मुस्ताङ । उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले सेवा प्रवाह सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी अधिकार लोमान्थाङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाल सरकारको गत कात्तिक २९ गतेको निर्णयअनुसार उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी कार्य स्थानीय तह र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई हस्तान्तरण गर्ने योजना अन्तर्गत यो व्यवस्था गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालका अनुसार मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकालाई व्यवसाय दर्तासम्बन्धी अख्तियारी प्रदान गरिएको हो । यसअघि विभागीय परिपत्रअनुसार पर्वतको पैँयु गाउँपालिका, बाग्लुङको गल्कोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकामा पनि कर दर्ता सेवा विस्तार गरिएको थियो ।
कर अधिकृत गमालका अनुसार यसअघि व्यवसाय दर्ताका लागि आन्तरिक राजस्व कार्यालय बाग्लुङ वा जोमसोम पुग्नुपर्ने बाध्यता थियो । अब भने सम्बन्धित व्यक्ति वा व्यवसायीले गाउँपालिकाबाटै व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण सेवा लिन सक्नेछन् ।आन्तरिक राजस्व कार्यालयले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा कर सेवा विस्तार गर्ने क्रममा लोमान्थाङ गाउँपालिका चौथो स्थानीय तह बनेको जनाएको छ । गाउँपालिकामा करदाता सेवा सञ्चालन भएपछि स्थानीय उद्योगी तथा व्यवसायीलाई कर दर्ता प्रक्रिया सहज भएको छ । सरकारले कर भुक्तानी तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था गरिसकेको छ ।
लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी बिष्टले कर सेवा गाउँपालिकाबाटै सञ्चालन हुन थालेपछि स्थानीय व्यवसायीलाई ठूलो राहत पुगेको बताइन् । ‘व्यवसाय दर्ताका लागि जोमसोम वा बाग्लुङसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ,’ उनले भनिन्, ‘यसले समय र खर्च दुवै बचत गरेको छ ।’

















प्रतिक्रिया दिनुहोस्