म्याग्दी । पर्यटकीय सम्भावना बोकेको जलजलाको प्रचारप्रसार, समस्या पहिचान र समाधानका लागि म्याग्दीको धवलागिरि गाउँपालिकाले पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि सुरु भएको दुईदिने कार्यक्रममा जलजलासँग सम्बन्धित साझा मुद्दा तय गरी जिल्ला, प्रदेश र सङ्घीय तहमा पहल गर्ने उद्देश्य राखिएको छ ।
समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजला ढोरपाटन सिकार आरक्षअन्तर्गत पर्छ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा पर्ने जलजलाको पर्यटन विकास, सडक पहुँच, पूर्वाधार र प्राकृतिक स्रोत उपयोगका विषयमा सरोकारवालाबीच छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार बेनी–मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडक खुलेपछि क्षेत्रीय विकासको नयाँ सम्भावना सिर्जना भएको छ । ‘यस अवसरको उपयोग र समस्या समाधानका लागि साझा धारणा तथा योजना बनाउन कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।
कार्यक्रममा सङ्घीय तथा प्रदेश सांसद, म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, बागलुङको ढोरपाटन नगरपालिका, पूर्वीरुकुमका पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका प्रतिनिधि, पर्यटन व्यवसायी तथा विज्ञ सहभागी भएका छन् । सोमबार ‘जलजला घोषणापत्र’ जारी गर्दै कार्यक्रम समापन गरिने जनाइएको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ढोरपाटन सिकार आरक्षको भूगोल म्याग्दीमा परे पनि सलामी दस्तुर नपाएको तथा सीमा विवाद समाधान हुन नसकेको विषय सङ्घीय सरकारसमक्ष उठाइने बताए । उनले बेनीदेखि तकसेरा जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा विकास गर्न प्रदेश र सङ्घीय सरकारलाई दबाब दिने साझा एजेन्डा तय गरिने जानकारी दिए ।
जलजला क्षेत्र प्राकृतिक सौन्दर्य, हिमश्रृङ्खलाको दृश्यावलोकन, समथर पाटन, वनजङ्गल र चरन क्षेत्रका कारण पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि, मनास्लुलगायत हिमाल अवलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु र हरियाली तथा वसन्त ऋतुमा गुराँस फुलेको दृश्य यहाँको आकर्षण हो । जलजलाको जङ्गल दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा) को बासस्थानका रूपमा पनि परिचित छ । हाल जलजलामा होटल तथा रेष्टुरेन्टको सुविधा छैन । स्थानीयवासी फुलबहादुर विकले गोठमा पर्यटकलाई खाना र बसोबासको व्यवस्था गर्दै आएका छन् । च्याउ, टुसाका परिकार, ढकायोको साग, दूध, दही तथा भेडा–खसीको मासु यहाँका स्थानीय परिकार हुन् ।
जलजला पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमार्फत जिप वा मोटरसाइकलमा करिब एक घण्टा र धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट करिब दुई घण्टा यात्रा गर्नुपर्छ । पैदलयात्रामार्फत पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीयले बताएका छन् । यस वर्ष धवलागिरि गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालयलगायत केही पर्यटकीय पूर्वाधार निर्माण गरेको छ । तर आवास र खानेपानीको अभाव अझै मुख्य चुनौतीका रूपमा रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्