Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

५० नेपाली औषधि उद्योग बन्द हुने जोखिममा,बाह्य औषधि आयातमा कडाइ गर्न माग

५० नेपाली औषधि उद्योग बन्द हुने जोखिममा,बाह्य औषधि आयातमा कडाइ गर्न माग
विज्ञापन
Advertisement

चितवन । नेपाली औषधि उत्पादकहरूले विदेशी औषधिको बढ्दो आयातका कारण स्वदेशी उद्योग संकटमा परेको भन्दै सरकारले आयातमा कडाइ गर्नुपर्ने माग गरेका छन् । नेपालमै पर्याप्त उत्पादन हुने औषधिको आयात रोक्दै कच्चा पदार्थ मात्रै आयात गर्ने नीति लिनुपर्ने उनीहरूको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा हाल करिब १०० औषधि उद्योग रहेकामा १० उद्योग बन्द भइसकेका छन् भने थप ५० उद्योग बन्द हुने जोखिममा पुगेको उद्योगीहरूले बताएका छन् । सञ्चालनमा रहेका उद्योगहरू पनि पूर्ण क्षमतामा नचली ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् ।

नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का पूर्वकेन्द्रीय अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार विदेशी आयातित औषधिसँग प्रतिस्पर्धा गर्न नसक्नु नेपाली उद्योगको मुख्य समस्या बनेको छ । उनका अनुसार भारतलगायत विभिन्न देशका करिब २०० उद्योगका औषधि नेपालमा आयात भइरहेका छन् । ठूलो परिमाणमा उत्पादन हुने भएकाले विदेशी औषधिको लागत कम पर्ने तर नेपाली उद्योगले सीमित बजारका लागि उत्पादन गर्दा लागत महँगो पर्ने अवस्था रहेको उनले बताए ।

क्षेत्रीले तयारी औषधिमा न्यून भन्सार भए पनि नेपाली उद्योगले प्याकेजिङ सामग्री, सिसा तथा उपकरण आयात गर्दा भन्सार र मूल्य अभिवृद्धि कर तिर्नुपरेकाले उत्पादन लागत बढेको बताए । नेपालमै पर्याप्त उत्पादन हुने औषधिको आयात निरुत्साहित गर्दै कच्चा पदार्थ मात्रै आयात गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ ।

उनले उद्योग स्थापना तथा नयाँ प्रविधि भित्र्याउँदा लाग्ने भन्सारमा छुट दिनुपर्ने माग पनि गरे । उनका अनुसार नेपाली उद्योगसँग देशको कुल मागको करिब ८० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता छ । केही खोप र पेटेन्ट भएका नयाँ औषधिबाहेक अधिकांश औषधि नेपालमै उत्पादन गर्न सकिने उनले बताए ।

एपोनका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिए । उनका अनुसार लगानीको ५० देखि ६० प्रतिशत हिस्सा बैंक ऋणको छ । उद्योगहरू आर्थिक संकटमा फस्दै गएको उल्लेख गर्दै उनले कतिपय उद्योगले कामदारलाई तलब दिन र बैंकको किस्ता तिर्नसमेत नसकेको बताए ।उनले २०७४ सालमै नेपालमा उत्पादन हुने ३० प्रकारका औषधिको आयात रोक्ने सरकारी निर्णय कार्यान्वयन हुन नसकेको गुनासो गरे । नेपालमै बन्ने औषधिको आयात रोक्न सके स्वदेशी उद्योग चलायमान हुने, राजस्व बढ्ने र विदेशी मुद्रा बाहिरिन कम हुने उनको तर्क छ ।

अधिकारीले उद्योग स्थापना गर्दा लाग्ने भन्सार र भ्याटका कारण उद्योगको लागत बढेको भन्दै उत्पादन सुरु भएपछि मात्रै कर लिने नीति आवश्यक रहेको बताए । औषधिको लाइसेन्स प्रक्रियामा हुने ढिलासुस्तीले पनि उद्योगी समस्यामा परेको उनको भनाइ छ । नेपालमा वार्षिक करिब सात अर्ब रुपैयाँ बराबरको औषधि खपत हुने अनुमान छ । त्यसमध्ये आधा हिस्सा मात्रै नेपाली उत्पादनले ओगटेको उद्योगीहरूको भनाइ छ । नेपाली औषधिको गुणस्तर राम्रो भएकाले केही उद्योगले विदेशमा समेत निर्यात सुरु गरिसकेको उनीहरूले बताएका छन् ।

एपोनका उपाध्यक्ष सन्तोष बरालले स्वदेशी औषधि उद्योग जोगाउन विदेशी औषधिको आयात नियन्त्रण आवश्यक रहेको बताए । उनले बैंक ब्याजमा सहुलियत, नयाँ प्रविधि भित्र्याउन सहयोग तथा औषधि निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

सरकारको उचित सहयोग पाए नेपाली औषधि उद्योग दिगो रूपमा सञ्चालन हुन सक्ने उनको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit