काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज गृहमन्त्री शाहसँग भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
लामिछानेको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका विविध आयामबारे छलफल हुनेछ। विशेष गरी दुई देशबीचको सुरक्षा सहकार्य, लोकतान्त्रिक अभ्यास, आपसी राजनीतिक दलहरूबीचको संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने अपेक्षा जनाइएको छ ।
रास्वपा प्रतिनिधिमण्डलमा पार्टीका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा लगायतका नेताहरू सहभागी छन्।रास्वपा र भारतको सत्ताधारी दल भाजपाबीच आपसी सम्बन्ध विस्तारका लागि यो भ्रमणलाई महत्त्वपूर्ण राजनीतिक कूटनीतिक कदमका रूपमा हेरिएको छ।

















प्रतिक्रिया दिनुहोस्