काठमाडौं । भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाका हुँदै भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। ठूलो संख्यामा गाडी अवैध रूपमा भित्रिएको आशङ्कापछि विभिन्न जिल्लामा एकैसाथ गरिएको कारबाहीमा ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको हो। नियन्त्रण अभियानका लागि सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत र नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
त्यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार भन्सार प्रक्रिया पूरा नगरी विद्युतीय सवारीसाधन भित्र्याइएको आशङ्का गरिएको छ। नियन्त्रणमा लिइएका गाडीहरूको कागजात तथा स्रोतबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले भन्सार राजस्व छली र अवैध आयात नियन्त्रणका लागि देशभर निगरानी र कारबाही अभियानलाई तीव्र बनाइएको बताएको छ।

















प्रतिक्रिया दिनुहोस्