काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकले अब एउटै डिजिटल प्लेटफर्ममार्फत विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्ने भएका छन्। यसका लागि बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘¥यापिड’सँग सहकार्य गर्दै आफ्नो प्रणालीमा उक्त सेवा एकीकृत गरेको जनाएको छ।
नयाँ व्यवस्थासँगै ग्राहकले खाताको मौज्दात हेर्ने, स्टेटमेन्ट डाउनलोड गर्ने, फण्ड ट्रान्सफर गर्ने, ईएमआई भुक्तानी गर्ने तथा कर्मचारीको तलब वितरण गर्ने जस्ता सेवा एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्नेछन्। यसअघि यस्ता सेवाका लागि फरक–फरक प्रणाली प्रयोग गर्नुपर्ने अवस्था थियो।
बैंकका अनुसार ग्राहकले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ सुविधामार्फत आफ्नो बैंक खाता प्रणालीसँग जोड्न सक्नेछन्। सेवा प्रयोग गर्न प्रारम्भिक चरणमा एकपटक आवश्यक फाराम भरेपछि अधिकांश बैंकिङ गतिविधि अनलाइनमार्फत सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले यो सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको वित्तीय व्यवस्थापन प्रक्रियामा महत्वपूर्ण परिवर्तन ल्याउने बताए। उनका अनुसार व्यवसायको दैनिक वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दा समय, लागत तथा सञ्चालनसम्बन्धी जटिलता उल्लेखनीय रूपमा घट्नेछ।
‘¥यापिड’ले ग्राहक स्वीकृति प्रक्रियालाई समेत डिजिटल बनाएको जनाएको छ। कम्पनीका अनुसार प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा आधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको छ, जसले डिजिटल कारोबारलाई थप सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
एपीआईमा आधारित ‘¥यापिड’ बैंकिङ प्लेटफर्मले ‘बैंकिङ एज ए सर्भिस’ मोडलमार्फत बैंक, फिनटेक कम्पनी तथा डिजिटल सेवा प्रदायकलाई एउटै प्रणालीमा जोड्ने काम गर्छ। कम्पनीले साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा आधुनिक डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्