काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २३ दिनको अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उक्त रकम व्यवस्थान गर्न लागेको जनाएको हो । निक्षेप संकलन बोलकबोल निष्कासन प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो बोलकबोल पेश गरिसक्नुपर्नेछ।
राष्ट्र बैंकले आह्वान गरेको निक्षेप संकलनमा वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीहरुले मात्रै भाग लिन पाउनेछन्। राष्ट्र बैंकका अनुसार बोलकबोल गर्दा ब्याजदरलाई आधार मान्नुपर्ने र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकता दिएर रकम बाँडफाँड गरिने उल्लेख छ । यसरी संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी असार १९ गते हुने केन्द्रीय बैंकले जनाएको छ।
सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा बाँकी नरहने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यस उपकरणमा लगानी गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाउँछन् ।
यसैबीच, राष्ट्र बैंकले चालु आर्थिक वर्षको समीक्षा अवधिमा वित्तीय बजारबाट उल्लेख्य मात्रामा तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदन अनुसार समीक्षा अवधिमा विभिन्न मौद्रिक उपकरणहरूको प्रयोग गरी खुद ३७ खर्ब २५ अर्ब बढी तरलता प्रशोचन गरेको छ ।
अघिल्लो वर्षको दश महिनाको अवधिमा बैंकले १९ खर्ब २३ अर्ब माथि तरलता प्रशोचन गरेको थियो, जसको तुलनामा यस वर्ष तरलता प्रशोचनको आकार झन्डै दोब्बरले वृद्धि भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वित्तीय बजारमा अधिक तरलता रहेका कारण विभिन्न माध्यमबाट पैसा बोलकबोल तथा खिच्ने काम गरिएको थियो । जसमा निक्षेप सङ्कलन बोलकबोलबाट मात्रै २७ खर्ब ९४ अर्ब, स्थायी निक्षेप सुविधा अन्र्तगत ३४ खर्ब २७ माथि र नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गरेर २०० अर्ब रुपैयाँ संकलन गरेको छ। यी माध्यमहरूबाट कुल ३७,२६६ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो।

















प्रतिक्रिया दिनुहोस्