काठमाडौं । बर्डफ्लु सङ्क्रमणका कारण देशभर हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यससँगै सरकारले प्रभावित किसानलाई करिब ४२ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
पशुसेवा विभागका अनुसार बर्डफ्लु प्रभावित १० जिल्लाका ७२ वटा फार्ममा रहेका लेयर्स तथा स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि परिचालित द्रुत कार्य टोलीले १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको हो।
बर्डफ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार रोग पुष्टि भएर कुखुरा, अण्डा तथा दाना नष्ट गरिएका किसानले लागत मूल्यको ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ। राहत रकम द्रुत कार्य टोलीले संकलन गरेको क्षति विवरणका आधारमा निर्धारण गरिने पशुसेवा विभागले जनाएको छ।
महानिर्देशक डा। उमेश दाहालका अनुसार किसानलाई उपलब्ध गराइने राहत रकम सम्बन्धित जिल्लाको लागत मूल्यका आधारमा प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले तय गर्छ। क्षति विवरणमा किसान र द्रुत कार्य टोली दुवैको हस्ताक्षर रहने व्यवस्था छ।
विभागका अनुसार पछिल्ला केही महिनायता काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र चितवनलगायत १० जिल्ला बर्डफ्लुबाट प्रभावित भएका छन्। हाल चितवन तथा अन्य अधिकांश क्षेत्रमा रोग नियन्त्रणमा आइसके पनि काठमाडौं उपत्यका बर्डफ्लुको मुख्य प्रभावित क्षेत्रका रूपमा देखिएको छ।
वरिष्ठ पशुचिकित्सक डा। नवराज श्रेष्ठका अनुसार बर्डफ्लुको प्रभावकारी उपचार नभएकाले संक्रमित क्षेत्रका पक्षी, अण्डा र दाना नष्ट गर्नु तथा रोग फैलिन नदिन तत्काल नियन्त्रण गर्नु नै प्रमुख उपाय हो। प्रभावित क्षेत्रमा सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था छ, जसका कारण किसानले थप आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ।
बर्डफ्लु नियन्त्रण तथा रोकथामका लागि पशु चिकित्सकसहितका प्राविधिक टोलीहरू निरन्तर प्रभावित क्षेत्रमा परिचालित छन्।

















प्रतिक्रिया दिनुहोस्