महेन्द्रनगर । कञ्चनपुरको स्थानीय तहहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउँदै नापनक्सा कार्यलाई तीव्रता दिएको छ। जिल्लाका अधिकांश पालिकाले प्राविधिक टोली परिचालन गरी विभिन्न वडामा जग्गा नापजाँच सुरु गरेका छन्।
शुक्लाफाँटा नगरपालिकाले वडा नं. ५, १० र ११ मा नापनक्सा कार्य सञ्चालन गरिरहेको छ। नगरपालिकाका अनुसार छ वटा वडामा यसअघि नै नापजाँच सम्पन्न भइसकेको छ भने बाँकी वडा नं. ६, ७ र ८ मा वर्षायाम सकिएलगत्तै प्राविधिक टोली परिचालन गरिनेछ। नगरपालिकामा करिब १२ हजार भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन्। नापनक्सा सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरणका लागि कागजात भूमि आयोगमा पठाइने जनाइएको छ।
कृष्णपुर नगरपालिकाले पनि वडा नं. ५ र ६ मा नापनक्सा सुरु गरेको छ। पालिकामा १७ हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ। जग्गा व्यवस्थापनको काम छिटो सम्पन्न गर्ने उद्देश्यले नापजाँच अघि बढाइएको पालिकाले जनाएको छ।
बेदकोट नगरपालिकामा नौ हजार ५०० भन्दा बढी लाभग्राही रहेकामा अधिकांश क्षेत्रमा नापनक्सा सम्पन्न भइसकेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितसँग सम्बन्धित जग्गा विवाद रहेका केही वडाबाहेक अन्य क्षेत्रमा काम सकिएको जनाइएको छ।
लालझाडी गाउँपालिकामा पनि अधिकांश वडामा नापनक्सा पूरा भइसकेको छ। हाल वडा नं. १ मा नापजाँच भइरहेको छ भने वडा नं. ५ मा पुनः नापनक्सा गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ। पालिकामा चार हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन्।
जिल्लाभर करिब ६० हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ। उनीहरूको जग्गा व्यवस्थापन र लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन स्थानीय तहहरूले नापनक्सा कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएका छन्।

















प्रतिक्रिया दिनुहोस्