काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न नागरिकको आँखा उपचारका लागि आर्थिक सहयोग गरेको छ।
कम्पनीले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचार पाउन नसकेका १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।
उक्त सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। बिरामीहरूको शल्यक्रिया जनकपुरमा आयोजना गरिने कम्पनीले जनाएको छ।
विगत लामो समयदेखि देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको माट्रिका आइ सेन्टरको विशेषज्ञता र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले समुदायमा ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
कार्यक्रमका बारेमा बोल्दै आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले भने, ‘कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ। यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा र जीवन प्रदान गर्ने विश्वास लिएका छौँ।’
त्यस्तै, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहकार्यप्रति आभार प्रकट गर्दै यो कार्यक्रमले ग्रामीण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनमा उज्यालो र सकारात्मक परिवर्तन ल्याउने बताए ।
कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्