काठमाडौं । कोशी प्रदेशको इटहरीमा ४ हजार क्षमताको भव्य ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) निर्माण हुने भएको छ।
पायेनियर होटल व्यवसायी देशबन्धु बस्नेतको यस ड्रिम प्रोजेक्टका लागि एभरेष्ट बैंकको नेतृत्व र मुक्तिनाथ विकास बैंकको सहकार्यमा वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ। बस्नेतको नेतृत्वमा यो तेस्रो अन्तर्राष्ट्रिय स्तरको परियोजना हो।
अध्यक्ष बस्नेतले यो परियोजना केवल एउटा होटल वा कन्भेन्सन सेन्टर मात्र नभई पूर्वी नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र पर्यटन उद्योगको समग्र रूपान्तरणको आधारस्तम्भ बन्ने बताएका छन्।
यस परियोजनाले पूर्वी नेपालको विशेषगरी विराटनगर–इटहरी–धरान कोरिडोरलाई व्यावसायिक कार्यक्रम, वेडिङ डेस्टिनेशन, र अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख केन्द्र बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। भारत, भुटान र बंगलादेशका पर्यटक एवं समारोहहरूलाई लक्षित गरिएको यो सेन्टरले स्थानीय रोजगारी सिर्जना र पूर्वी नेपालको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
परियोजना सञ्चालनमा आएपछि हजारौंले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउनेछन् भने स्थानीय उत्पादनको खपत बढ्न गई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

















प्रतिक्रिया दिनुहोस्