Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीमा विवादले कर्णाली करिडोर ठप्प, मुगुमा ढुवानी र पर्यटन प्रभावित

सीमा विवादले कर्णाली करिडोर ठप्प, मुगुमा ढुवानी र पर्यटन प्रभावित
विज्ञापन
Advertisement

मुगु । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगु जिल्लामा परेको छ। विवादका कारण कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द भएपछि मुगुका स्थानीयवासी, पर्यटक तथा विकास निर्माणका काम प्रभावित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकाका बासिन्दालाई सवारी आवागमन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। त्यसका साथै रारा, मुगु र हुम्ला भ्रमणका लागि आउने पर्यटकसमेत प्रभावित भएका छन्।

हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गतेदेखि कर्णाली करिडोर पूर्ण रूपमा बन्द गरिएको थियो।

यसअघि वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलबीच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो। तर, सहमतिअनुसार माग सम्बोधन नभएको र स्थानीयमाथि भएका चोरी, सिकारी, लुटपाट तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन अघि नबढेको भन्दै आन्दोलन पुनः चर्किएको हो।

आन्दोलनरत पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरेको छ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार सडक बन्दका कारण सोरु र खत्याड गाउँपालिकाका बासिन्दालाई अन्तरजिल्ला आवतजावतमा कठिनाइ भएको छ। साथै खाद्यान्न, तरकारी तथा अन्य अत्यावश्यक सामग्री ढुवानी प्रभावित भएको छ।

उनले असार मसान्त नजिकिँदै गर्दा विकास आयोजनाका लागि आवश्यक हार्डवेयर सामग्रीलगायत अन्य निर्माण सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको बताए।

कर्णाली करिडोर बन्द हुँदा बाजुरा र हुम्ला मात्र नभई मुगुको जनजीवनसमेत प्रभावित भएको छ। आन्दोलनरत पक्षले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई पीडितको न्यायका पक्षमा उभिन आग्रह गरेको छ।

उता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद उत्पन्न भएको बताए।

उनका अनुसार विवादसँग सम्बन्धित घटनाको कानुनी प्रक्रिया अघि बढिरहेको छ। साथै, सडक बन्दबाट नागरिकलाई परेको समस्यालाई ध्यानमा राख्दै कर्णाली करिडोर सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit