भद्रपुर (झापा) । झापामा पछिल्लो एक महिनामा भएका अधिकांश सडक दुर्घटना चालकको लापरवाही र मानवीय त्रुटिका कारण भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ महिनामा भएका १७४ दुर्घटनामध्ये १५४ वटा चालककै लापरवाहीका कारण भएका हुन्।
सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २८६ जना घाइते भएका छन्। प्रहरीका अनुसार सडकको अवस्था वा सवारीसाधनको प्राविधिक समस्याभन्दा चालकको व्यवहार नै दुर्घटनाको प्रमुख कारण बनेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार समीक्षा अवधिमा सडकको खराब अवस्थाका कारण पाँच, सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन, यात्रुको गल्तीका कारण आठ, छाडा चौपायाका कारण एक तथा अन्य कारणले तीन वटा दुर्घटना भएका छन्।
सडक सुरक्षालाई प्रभावकारी बनाउन झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको सवारी जाँच अभियानमा नियम उल्लङ्घन गर्ने दुई हजार ७३३ सवारीसाधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट २८ लाख ३३ हजार ९१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्