Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका दुर्लभ मूर्ति

हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका दुर्लभ मूर्ति
विज्ञापन
Advertisement

रामेछाप । करिब ३० वर्षअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका मल्लकालीन आकाश भैरव (हाँथ्व देउ) का दुई दुर्लभ मूर्ति सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरको आधारमा गरिएको खोजी अभियानपछि स्वदेश फिर्ता भएका छन्। कानुनी, कूटनीतिक र प्राविधिक प्रयासका चार वर्षपछि ती मूर्ति असार ४ गते आफ्नै थलो दोलखा पुर्‍याइएको हो।

विज्ञापन
Advertisement
Advertisement

वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट चोरी भएका ती मूर्तिको कुनै अत्तोपत्तो थिएन। तर, वि.सं. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले सामाजिक सञ्जालमा ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्षकसहित सार्वजनिक गरेको पुरानो तस्वीर सम्पदा खोजी अभियानको मुख्य प्रमाण बनेको थियो। त्यसपछि बालकृष्ण पासाले सोही विषयमा लेख तयार पारेका थिए, जसले अभियानलाई थप गति दिएको थियो।

उक्त सामग्री सम्पदा संरक्षणमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’को ध्यानमा पुगेपछि २०७९ सालदेखि अनिलचन्द्र श्रेष्ठ, यज्ञकुमार प्रधान, सञ्जय अधिकारी, नेपाल हेरिटेज रिकभरी क्याम्पेन र लस्ट आर्ट्स अफ नेपालको समन्वयमा प्रमाण संकलन, प्रहरीमा दर्ता भएका पुराना जाहेरी खोज्ने, पुरातत्व विभागमा निवेदन दिने तथा अमेरिकी निकायसँग कानुनी प्रक्रिया अघि बढाउने काम सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा अमेरिकाको न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयसँग पटक–पटक भर्चुअल बैठक गरिएको थियो। अनुसन्धानपछि अमेरिकाका दुई सङ्ग्रहालयमा रहेका दुवै मूर्ति जफत गरी आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो।

मूर्ति नेपाल ल्याउने क्रममा नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह र सचिव प्रेमगोपाल महर्जनले ढुवानीदेखि समन्वयसम्म महत्वपूर्ण सहयोग गरेका थिए। उनीहरूको पहलमा दोलखाका दुईसहित चार ऐतिहासिक मूर्ति नेपाल ल्याउन सफल भएको अभियानमा संलग्नहरूले बताएका छन्।

पुरातत्व विभागले २०८० माघ १७ गते पत्रकार सम्मेलनमार्फत मूर्ति नेपाल आइपुगेको जानकारी दिएको थियो। त्यसपछि ती मूर्तिलाई नेपाल राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राखिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि असार ४ गते दुवै मूर्ति पुनः दोलखा फर्काइएको हो।

स्थानीयवासीका अनुसार एउटा पुरानो तस्वीर, स्थानीय समुदायको निरन्तर प्रयास, कानुनी प्रमाण संकलन, अन्तर्राष्ट्रिय समन्वय र सम्पदा संरक्षण अभियन्ताहरूको सक्रियताका कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो। उनीहरूले यसलाई विदेश पुगेका नेपाली ऐतिहासिक तथा धार्मिक सम्पदा स्वदेश फिर्ता गराउने अभियानका लागि प्रेरणादायी उदाहरणका रूपमा समेत लिएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit