मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला सडकलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने बताए। उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकास अघि बढाइरहेको जानकारी दिए।
मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लाग्ने (हाइ-अल्टिच्युड सिकनेस) कारण पर्यटक बिरामी हुने समस्या बढ्दै गएको उल्लेख गर्दै त्यसको व्यवस्थापनका लागि पर्यटकका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने विषयमा सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरूले मुस्ताङको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र विद्यमान चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।















प्रतिक्रिया दिनुहोस्