काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुन महिनामा हवाईमार्गबाट ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्।
यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ को तुलनामा १९.५ प्रतिशत बढी हो। साथै, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमनको तुलनामा पनि यस वर्ष २२.०१ प्रतिशत वृद्धि भएको छ।
तथ्यांकअनुसार जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। यसमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएको तथ्यांकले देखाएको छ।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हिस्सा हो। यसमा चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन्। युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट सबैभन्दा धेरै ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन्।
यसैगरी, अमेरिका महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ र ब्राजिलबाट २१९ पर्यटक नेपाल आएका छन्। त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल आएका छन्।
नेपाल आएका कुल पर्यटकको यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशत बढी हो। यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ६९४ र न्युजिल्यान्डबाट ३९० पर्यटक आएका छन्। अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको सकारात्मक छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको बताए।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्